नेपालमा पाइने धेरै माइलेज दिने ५ कम्प्याक्ट एसयूभी

काठमाडौं । नेपाल आयल निगमले ९ दिनको अन्तरमा २० रुपैयाँ प्रतिलिटर पेट्रोल र डिजेलको मूल्य बढाएसँगै गाडी चढ्ने मानिसको मासिक खर्चमा व्यापक वृद्धि हुने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको तिब्र मूल्य वृद्धिको असरले नेपाल जस्तो पेट्रोलियम पदार्थ पूर्णत आयातमा भर पर्नु पर्ने देशलाई निकै समस्या सृजना गरेको छ । धेरै मानिसले पेट्रोलको खर्च धान्न नसकेर गाडी घरमा थन्काउने अवस्था सृजना भएको छ ।

यस्तोमा धेरै माइलेज दिने एसयूभी खोज्ने ग्राहकलाई विभिन्न कम्पनीले आकर्षक मोडल उपलब्ध गराएका छन् । हुन्डाई, किया, स्कोडा, निसान, फक्सवागेन जस्ता ब्राण्डले उत्कृष्ट माइलेज दिने कम्प्याक्ट एसयूभीहरु बजारमा उपलब्ध गराएका छन् ।

५. निसान किक्सः निसानले विक्री गर्दै आएको किक्स राम्रै माइलेज दिने कम्प्याक्ट एसयूभीमा पर्छ । निसानले किक्समा १.५ लिटर नेचुरल्ली एस्पीरेटेड र १.३ लिटर टर्बो इन्जिन दिएको छ । एआएआईको अनुसार किक्सको १.५ लिटर क्षमताको इन्जिनले प्रतिलिटर १३.९ र १.३ लिटर टर्बो इन्जिनले १५.८ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ । यी दुबै मोडलले सडकमा गुडाउँदा औषतमा १० किलोमिटर माइलेज दिन्छन् ।

४. किया सेल्टोसः कियाले नेपाली बजारमा १.५ लिटर क्षमताको इन्जिनमा सेल्टोस विक्री गर्दै आएको छ । सेल्टोसमा रहेको १.५ लिटर पेट्रोल इन्जिनले अधिकतम १६.६ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । यद्यपि सडकमा गुडाउँदा यसले ११ किलोमिटरको औषतमा माइलेज दिन्छ ।

३. स्कोडा कुशकः स्कोडाले भारतमा उत्पादन गरेको कुशक १.० लिटर इन्जिनमा उपलब्ध रहेको छ । सानो इन्जिन भएको कारण यसको माइलेज पनि राम्रो छ । भारतीय अटोमोवाइल रिसर्च एजेन्सी (एआरएआई) का अनुसार कुशकले प्रतिलिटर १६.८ किलोमिटर माइलेज दिन्छ । सडकमा यसले १२ किलोमिटर हाराहारी माइलेज दिन्छ ।

२. हुन्डाई क्रेटाः हुन्डाई क्रेटा सर्वाधिक सफल कम्प्याक्ट एसयूभी हो । यसमा कम्पनीले १.५ लिटरको इन्जिन रहेको छ । यसमा रहेको इन्जिन निकै किफायती रहेको एआरएआईले प्रमाणित गरेको छ । एआरएआईका अनुसार क्रेटाले प्रतिलिटर १६.८ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । जुन स्कोडा कुशकको बराबर हो । यसले पनि सडकमा १२ किलोमिटर हाराहारी माइलेज दिन्छ ।

१. फक्सवागेन टाइगुनः माइलेजको मामलामा टाइगुन सबैभन्दा अगाडि रहेको छ । फक्सवागेनले टाइगुनमा १.० लिटर इन्जिन दिएको छ । टर्बो इन्जिन भएको कारण यसको पावर र माइलेज दुबै राम्रो छ । एआरएआईका अनुसार टाइगुनले प्रतिलिटर १८.२३ किलोमिटर माइलेज दिन्छ । यसलाई सडकमा गुडाउनेहरुले १३ किलोमिटरसम्म प्रतिलिटर माइलेज पाइरहेका छन् ।


Back_to_top