काठमाडौं । क्लिन इनर्जी विश्वभर चर्चामा रहेको छ । विशेषत यातायात क्षेत्रमा गएको ४÷५ वर्षवाट प्रदुषण रहित गाडीको माग उच्च रुपमा बढ्दै गएको छ ।
परम्परागत रुपमा चल्दै आएका इन्टरनल कम्बस्चन इन्जिन भएका गाडीबाट निस्कने कार्बनमनो अक्साइड, नाइट्रोजन, अमोनीया जस्ता धेरै प्रकारका ग्यासले मानव स्वास्थ्यसँगै विश्व नै जलवायु परिवर्तनको चपेटामा परेको छ ।
सवारीसाधनकै कारण विश्वका ठूला सहरहरुको वातावरण प्रदुषण लेबल निकै माथि पुगेको छ । अथवा भनौ, त्यहाँ मानिसले श्वासनै फेर्न नसकिने अवस्था आइसकेको छ ।
त्यही कारण विश्वभरका परम्परागत कार निर्मातादेखि नयाँ स्टार्टअप कम्पनीहरु इलेक्ट्रीक र हाइड्रोजन फ्यूलसेल जस्ता क्लिन इनर्जीबाट चल्ने साधनमा खोज गरिरहेका छन् ।
त्यसैको परिणाम स्वरुप ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी) अहिले निकै चर्चामा छ । इलेक्ट्रीक कारले वातावरणमा कुनै पनि प्रदुषण गर्ने छैन । ईभीको मुख्य कम्पोनेन्टको रुपमा रहेको ब्याट्री (धेरै मात्रामा प्रयोग हुने लिथियम आयोन) उत्पादन गर्न हाम्रो पृथ्वीबाट निकालिएको कोबाल्ट र ग्राफाइट जस्ता रसायनीक तत्वहरुको आवश्यक्ता पर्छ । यो पनि कुनै दिनमा गएर सकिने नै छ । त्यसका अलावा ईभीमा रहेको ब्याट्री प्याकको आयु निश्चित समयको हुन्छ । त्यसपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु पनि अनिश्चित रहेको छ ।
वातावरण विदहरुका अनुसार यस्ताब्याट्रीले झन् ठूलो वातावरणीय हानी गर्ने सम्भावना रहेको छ । यस्ता खाले वातावरणीय समस्याहरु भएता पनि अहिले जीरो इमीसन भेहिकलको रुपमा बीईभीको माग अत्याधिक रहेको छ ।
दोस्रो जीरो इमीसन भेहिकलको रुपमा हाइड्रोजन फ्यूलसेल भेहिकल (एफसीभी) विकास भएको छ । इन्धनको रुपमा लिक्वीड हाइड्रोजन प्रयोग हुने र एक्जस्ट पाइपबाट शुद्ध पानी मात्र फाल्ने भएकाले यस्ता कारहरु अझ चर्चामा रहेका छन् । बीइभीमा लाग्ने चार्जिङ समयलाई धेरै गुनामा घटाउन सकिने र एकपटकको रिफ्यूलीङमा लामो रेन्ज प्राप्त गर्न सकिने भएकोले एफसीभीहरुको संचालन अझ बढी प्रभावकारीता देखिएको छ ।
के हो हाइड्रोजन
हाइड्रोजन कुनै नयाँ तत्व भने होइन । यसको प्रयोग फर्टिलाइजर र स्टिल उद्योगमा धेरै मात्रामा हुने गरेको छ । तर, हाइड्रोजनको उत्पादनको प्रकृयाका आधारमा तीन प्रकारका हाइड्रोजन पाउन सकिन्छ । उत्पादनको प्रकृयाको आधारमा हाइड्रोजनलाई ग्रे, ब्लु, र ग्रीनगरी तीन प्रकारमा विभाजन गर्न सकिन्छ ।
सबैभन्दा सजिलो र सस्तो तरिकाले उत्पादन हुने ग्रे हाइड्रोजन हो । यसको उत्पादनका लागि धेरै मात्रामा कोइला र मिथेन जस्ता फोसील फ्यूलको प्रयोग हुन्छ । जसको उत्पादनमा नै धेरै मात्रामा प्रदुषण हुन्छ ।
दोस्रो ब्लु हाइड्रोजन उत्पादनका क्रममा फोसिल फिउलनै प्रयोग गरिएता पनि कम प्रदुषण उत्सर्जन गर्ने दावा गरिएको छ । कम्पनीहरुले यो प्रविधिबाट हाइड्रोजन उत्पादन गर्दा ९० प्रतिशतसम्म कार्वनडाइ अक्साइडजस्ता प्रदुषणलाई समातेर जमिनमा पुर्याउने काम गर्छन् ।
अहिले चर्चामा रहेको सबैभन्दा सफा तरिका भनेको ग्रीन हाइड्रोजन हो । यसको उत्पादनमा कुनै पनि प्रकारको प्रदुषण उत्सर्जन हुँदैन । यसमा इलेक्ट्रोलाइसीस प्रविधिबाट हाइड्रोजन उत्पादन हुन्छ । यो प्रकृयामा एनोड, क्याथोड र मेम्ब्रेनको सहायताले ग्रीन हाइड्रोजनको उत्पादन हुन्छ ।
यो यस्तो सफा तरिका हो, जसमा कुनै पनि कार्बन बाइप्रडक्ट उत्पादन हुँदैन । यसमा मुख्य इन्धनको रुपमा सफा पानी र रिन्यूएवल इनर्जीको प्रयोग हुन्छ ।

यो प्रकृयामा पानीमा रहेको (एचटुओ) हाइड्रोजन र अक्सिजनलाई टुक्राइन्छ र हाइड्रोजन र अक्सिजन उत्पादन हुन्छ । यही हाइड्रोजनलाई संकलन गरेर फ्यूलको रुपमा प्रयोग गरिन्छ । ग्रीन हाइड्रोजनको उत्पादन हेर्दा निकै सहज र सजिलो छ । तर, यो प्रकृयामा पानी करिब सित्तैमा पाइएता पनि इनर्जीका रुपमा भने इलेक्ट्रिसीटीको प्रयोग हुन्छ । यसमा इलेक्ट्रीसीटीको इनर्जीलाई हाइड्रोजनको रुपमा परिवर्तन गरिने मात्र हो ।
त्यसकारण एफसीभी संचालनका लागि प्रयोग हुने यस्ता हाइड्रोजन फुयूलको इनर्जीको सोर्स नभई इनर्जीको क्यारियर मात्र हो । यो तरिकामा क्लिन इनर्जीलाई ग्रीन हाइड्रोजनमा कन्भर्ट गरेर फेरी क्लिन इनर्जीमा कन्भर्ट गर्दा सुरुमा खर्च भएको इनर्जीको तुलनामा ४० देखि ५० प्रतिशत इनर्जी मात्र प्राप्त गर्न सकिन्छ । इनर्जीमा हुने यस्तो प्रकारको ‘लस’लाई ‘राउण्डट्रीप इनर्जी लस’ भन्ने गरिन्छ । फलस्वरुप वास्तविक उत्पादन भएको इनर्जीको ६० प्रतिशत सम्म त्यतीकै खेर जाने गर्छ । जसले यस्ता भेहिकलको संचालन लागतलाई धेरै महंगो पर्छ । फेरी, हाइड्रोजनलाई उत्पादन स्थलबाट विभिन्न प्रयोग गरिने स्थलमा पूर्याउन र स्टोर गर्नमा पनि ठूलो लगानी र खर्चको आवश्यक्ता पर्छ । उत्पादन र प्रक्रियामा सुधार भएन भने हालको अवस्थामा जीरो इमीसन भेहिकलको रुपमा फ्यूलसेल भेहिकल उपयुक्त र योग्य देखिदैन ।
यसको जटिल र महंगो उत्पादन लागतको कारण समस्या देखिए पनि इन्धन भर्ने समय तथा कुल तौलको तुलना गर्ने हो भने मास ट्रास्पोर्टेसनका बस, ट्रक, रेल पानीजहाज र हवाई जहाजलाई प्रदुषण रहित बनाउन ब्याट्री ईभीको तुलनामा फ्यूलसेल भेहिकल उपयुक्त हुनेछन् ।
विश्वका ठूला अटोमोवाइल कम्पनीहरु टोयोटा र हुन्डाईले विगत लामो समयदेखि एफसीभी भेहिकलको परिक्षण र उत्पादन गरिरहेकाले निकट भविष्यमै यो प्रविधिमा ठूलो परिवर्तन आउने सम्भावना रहेको छ । छिमेकी मुलुक भारतका पनि ठूला उद्योगपतिहरु रिलायन्स र अदानी जस्ता ग्रुपले ग्रिन हाइड्रोजनमा अरबौं डलर लगानी गर्ने घोषणा गरसँगै निकट भविष्यमै यसको इफिसीयन्सी र मूल्यमा सुधार हुने अनुमान गर्न सकिन्छ । यसले हाइड्रोजनबाट चल्ने साधन सस्तो बनाउने खोजलाई बलियो र तिब्र बनाउने छ ।

