काठमाडौं । जुन महिनामा भारतमा सार्वजनिक भएका चल्तीका दुई मोडल मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यू बीचको रोचक प्रतिस्पर्धा हुने अनुमान पहिल्यै थियो ।
हुन्डाईले जुन १६ तारिखमा भेन्यू फेसलिफ्ट बजारमा उतारेको थियो भने मारुती सुजुकीले ब्रेजालाई जुन ३० तारिखमा ल्याएको थियो । दुई हप्ताको फरकमा आएका यी गाडीको विक्रीमा कसले बाजी मार्ला भन्ने सर्वत्र चासो रहेको थियो ।
यदि आयात प्रतिबन्ध कायम नभएको भए यी दुबै सब फोर मिटर एसयूभीको नेपाल ल्याउने तयारी तिब्र हुने थियो । यी दुबै गाडी भदौको पहिलो साता नेपालमा सार्वजनिक हुने थिए ।
भलै नेपाली बजारको प्रतिस्पर्धा तत्काल देख्न नपाईए पनि भारतीय बजारमा जुलाई महिनाको प्रतिस्पर्धामा भेन्यूले ब्रेजालाई पछाडि छाडेको छ । जुलाई महिनामा हुन्डाई भेन्यू १२ हजार यूनिट विक्री हुँदा ब्रेजा ९ हजार ७०९ यूनिट मात्रै विक्री भएको छ । तथापि, यी दुबै मोडलभन्दा नेक्सनको विक्री तथ्यांक माथि रहेको छ । उक्त महिनामा नेक्सन १४ हजार २१४ यूनिटसहित चार मिटरभन्दा छोटा एसयूभीको पहिलो स्थानमा छ ।
त्यसको साथै किया सोनेट ७ हजार २१५ यूनिट सहित सेग्मेन्टको चौथो स्थानमा छ भने पाँचौ स्थानमा टोयोटा अर्वान क्रुजर परेको छ । टोयोटा अर्वान क्रुजर मारुती सुजुकी ब्रेजाकै प्लेटफर्ममा तयार भएको सब फोर मिटर एसयूभी हो ।

