काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक कार उत्पादक कम्पनी टेस्लाले सन् २०२२ मा मात्रै दुईवटा नयाँ प्लान्ट संचालनमा ल्याएको छ । तर, विश्वभर बढ्दो विद्युतीय कारको माग पुरा गर्न अहिले रहेको प्लान्टले नभ्याउने देखिएपछि थप नयाँ प्लान्ट लगाउने योजना कम्पनीले सार्वजनिक गरेको हो ।
टेस्लाको लगानी कर्ताहरुको वार्षिक बैठकमा कम्पनीका सीईओ इलन मस्कले सन् २०३० सम्ममा थप १० देखि १२ वटा गिगा फ्क्याट्री (प्लान्ट) स्थापना गर्ने घोषणा गरेका हुन् । कम्पनीको योजना अनुसार सन् २०३० सम्ममा दुई करोड कार निर्माण गर्ने लक्ष्य लिएको मस्कको भनाई थियो ।
टेस्लाले अहिलेसम्म ३० लाख यूनिट विद्युतीय कार उत्पादन रहेको छ । यसलाई बाँकी ८ वर्षमा बढाएर २ करोड यूनिट पुर्याउने कम्पनीको योजना हो । हरेक नयाँ प्लान्टबाट वार्षिक १५ देखि २० लाख यूनिट कार उत्पादन गर्ने क्षमता बनाउने मस्कले बताए । टेस्लाले निकट भविष्यमै क्यानडामा नयाँ गिगा फ्याक्ट्री बनाउने योजना अगाडि ल्याएको हो ।
अहिले टेस्लाको फेरमोन्ट, क्यालीफोर्नीया, स्पार्कस, नेभाडा, बफेलो, न्यूयोर्क, अस्टिन, टेक्सास जस्ता अमेरिकी राज्यमा प्लान्ट रहेको छ । अमेरिका बाहिर चाइना र जर्मनमा समेत टेस्लाले गिगा फ्याट्री र कम्पोनेन्ट उत्पादन प्लान्ट संचालन गरिरहेको छ ।


