भृकुटीमण्डपमा ओलाका दुई स्कुटर भोलि सार्वजनिक हुने, यस्तो छ सम्भावित मूल्य

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले आधिकारीक विक्रेताको जिम्मेवारी पाएको इलेक्ट्रीक स्टाटअप ब्राण्ड ओलाका दुई स्कुटर भोलि नेपालमा सार्वजनिक हुँदैछन् ।

भारतको चर्चित राइड एण्ड सेयरिङ कम्पनी ओलाले उत्पादन गरेको एस वान र एस वान प्रो मोडल नेपालमा सार्वजनिक हुनेछ । यी दुबै स्कुटरमा धेरै रमानता भएपनि मूल्य र रेन्जमा भने भिन्नता पाउन सकिन्छ ।

भारतमा एकै दिन एक लाख यूनिट बुकिङ भएर चर्चा कमाएको ओला इलेक्ट्रीकले हालै इलेक्ट्रीक कारको टीजरसमेत सार्वजनिक गरेको थियो । भारतमै लिथियम आयोन ब्याट्री उत्पादनको समेत काम अगाडि बढाएको ओला नेपालमा पनि प्रतिक्षा गरिएको ब्राण्ड हो ।

लामो समयदेखि भारतमा उत्पादन कम र माग ज्यादा भएका कारण ओला ब्राण्ड नेपाल ल्याउन सम्भव भएको थिएन । हाल ओलाले आफ्नो उत्पादन क्षमता वृद्धि गरेसँगै नेपाल भित्रिएको हो ।

दुबै एस वान र एस वान प्रो स्कुटरमा समान ८.५ किलोवाट क्षमताको मोटर उपलब्ध रहेको छ । यी दुबै स्कुटरको टर्क पनि समान ५८ एनएम छ भने ब्याट्री एस वानमा २.९८ किलोवाट आवर र प्रोमा ३.९७ किलोवाट आवर रहेको छ । एस वान प्रोमा ठूलो ब्याट्री रहेको कारण रेन्ज पनि धेरै दिन्छ ।

नाडा ईभी एक्स्पो २०२२ भोलिबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । त्यही एक्स्पोमा सिजी मोटर्सले ओलाका दुई उत्पादन सार्वजनिक गर्न लागेको हो । यी दुई मध्ये एस वान स्कुटरको मूल्य ३ लाख ७५ र एस वान प्रोको मूल्य ४ लाख ५० हजार हाराहारी पर्ने अनुमान गरिएको छ ।

दुबै स्कुटरमा अगाडि २२० एमएमको डिस्क र पछाडि १८० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ । १२ इन्चको अलोय ह्वील, ट्यूवलेस टायर, अगाडि सिंगल फर्क र पछाडि मोनोसक सस्पेन्स पाउन सकिन्छ । दुबै स्कुटरमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध हुनेछ । दुई स्कुटरमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ ।


Back_to_top