इन्जिन भएका मोटरसाइकल र कारको आयु सकिदै

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आजबाट गर्न लागेको नेपालकै पहिलो विद्युतीय साधनको ईभी एक्स्पो २०२२ पछि हरेक आइसी इन्जिन भएका गाडीको आयु कति भन्ने बहस सुरु भएको छ ।

नेपालमा विद्युतीय साधनको लागि उपयुक्त वातावरण रहेको धेरै विज्ञहरुले बताउने गरेपनि पूर्वाधारको कमीले धेरै मानिसले विद्युतीय गाडी किन्ने आँट गर्न सकिरहेका छैनन् । अहिले नेपालमा चल्तीका थुप्रै ब्राण्डले ईभी विक्री गर्दै आएका छन् । ब्राण्डको संख्या बढ्दै गएको भएपनि पूर्वाधार निर्माणमा सरकारी उदासिनताले समस्या सृजना भएको धेरै ईभी प्रयोगकर्ताहरुको बुझाई छ ।

कम्बस्चन इन्जिन भएका साना प्यासेन्जर कार र मोटरसाइकल तथा स्कुटर सन् २०३० पछि आयात प्रतिबन्ध लगाउने तयारी सरकारले गरिरहेको छ । सरकारले सन् २०३० पछि विद्युतीय साधनको मात्रै संचालन गर्ने लक्ष्य लिनु भनेको सन् २०५० पछि नेपाली सडकमा पेट्रोलबाट चल्ने गाडी भेटिदैनन् भन्ने हो ।

नेपालमा विद्युतीय साधनको प्रयोगमा आम मानिसको चासो हुनुमा यहाँ उत्पादन हुने क्लिन इनर्जी मुख्य हो । नेपालमा उत्पादन हुने विद्युत निर्यातको बहस चलिरहेको समयमा नेपालमै विद्युत खपतको बतावरण बनाउन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चर्जिङ पूर्वाधार निर्माणको लागि काम अगाडि बढाएका छन् ।

यसको अलावा नेपालमा गाडी उत्पादन गर्ने प्लान्ट नहुनु र जसरी पनि आयातमै भरपर्नु पर्ने अवस्थाको कारण पनि राज्यको नीति विद्युतीय साधन छनोट गर्नेतर्फ केन्द्रित हुने अवस्था देखिन्छ ।

विश्वमा सन् २०५० सम्ममा पूर्णरुपमा क्लिन इनर्जी भेहिकल चलाउने घोषणा विश्वका अधिकांश सरकारले गरिरहेका छन् । त्यस्तोमा नेपाल सरकारले एक कदम अगाडि बढेर आई इन्जिनको सहायताले चल्ने गाडी आयातमा प्रतिबन्ध लगाउने देखिन्छ ।

अहिले विभिन्न माध्यमबाट विद्युतीय साधनको प्रयोग गर्न लोभ्याउने वातावरण संचालन हुनु पनि आईसी इन्जिनको गाडी आयात बन्द हुनेतर्फ केन्द्रित भएको अनुमान लगाउन सकिन्छ ।


Back_to_top