दशैंमा टाटाको ईभी लिएर यात्रा गर्नेलाई विशेष तयारी

काठमाडौं । दशैंमा टाटाको ईभी लिएर यात्रा गर्ने आफ्ना ग्राहकको लागि कम्पनीले विषेश तयारी गरेको जनाएको छ । कम्पनीले दशैंको समयमा ईभी लिएर यात्रा गर्ने ग्राहकको सहजताको लागि सुविधा थप गरिएको जनाएको छ ।

बजारमा १२ सय हाराहारी ईभी पुगेको र दशैंको समयमा धेरै ईभी गुड्ने भएकाले चार्जिङ स्टेशन थप गर्ने, एसी चार्जर थपेर धेरैभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गर्ने तयारी भइरहेको सिप्रदी ट्रेडिङले जनाएको छ ।

‘हामीले धेरै ग्राहकले यात्रा गर्ने समयलाई मध्येजनर गर्दै आवश्यक चार्जिङ नेटवर्क थप गर्ने र सर्भिस सेन्टरहरु खुल्ला राख्ने योजना बनाएका छौं । हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकले उचित सेवा पाउन सकुन्, कतै समस्या नहोस् भन्ने हो’, सिप्रदीको प्यासेन्जर भेहिकल यूनिटका जनरल मेनेजर शावन्तजंग सिजापतीले मेरोअटोसँग भने ।

आफ्नै सबै ईभी प्रयोगकर्ताले दशैंको बेलायात्रा गर्दा चार्जिङ नेटवर्कको अवस्था मोवाइल एपमा हेरर थाहा पाउने बताउँदै सिजापतीले भने, ‘सबै ठाँउमा पुग्ने वित्तिकै चार्जरमा गाडी जोड्न नपाउन सकिन्छ । टेक्नोलोजीको प्रयोग गरेर खाली समय पत्ता लगाएर चार्जिङ सेन्टर जानु होला ।’

टाटाले अहिलेसम्म १९ वटा फास्ट चार्जर संचालन गरिरहेको छ । कम्पनीकाे धार्केमा दुई वटा फास्ट चार्जर र ५ वटा एसी चार्जर छन् । मलेखु र मुलकाेटमा दुई वटा चार्जर थपेर १९ वटा पुर्याएका छौं ।

धार्के, मलेखु, चुम्लीङटार, पोखरा, चितवन, भैरहवा, भालुवाङ, नेपालगंज र धनगढीमा बनेको फास्ट चार्जिङ नेटवर्कले पश्चिमतर्फ यात्रा गर्ने टाटाका ईभीलाई सर्भिस दिनेछन् । धार्केमा पहिला एउटा मात्रै चार्जर रहेकोमा दशैंलाई लक्षित गरेर एउटा थप गरिएको हो ।

पूर्वतर्फ यात्रा गर्नेको यसअघि एउटा मात्रै चार्जर रहेको मुलकोटमा अर्को थप गरेर दुई वटा बनाइएको छ । साथै, चिवनतर्फबाट यात्रा गर्नेले हेटौडा, सिमरा, ढल्केबगर, लाहान, इटहरी र विर्तामोडमा चार्जिङ स्टेशन रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी देशका १०० भन्दा धेरै स्थानमा एसी चार्जर संचालनमा रहेको सिजापतीले बताए । उक्त स्थानहरु टाटाको जियो एपबाट सहजै हेर्न सकिन्छ । कम्पनीले चार्जिङ र सर्भिसको लागि चाहिने सर्पोटमा कुनै कमी हुन नदिनेगरी काम गरिरहेको छ । सर्भिसको लागि वागडोलको सर्भिस सेन्टर सधैं खुल्ला हुनेछ, यहाँ चार्जिङ सेन्टर पनि उपलब्ध छ । आवश्यक सर्भिसको लागि कम्पनीले ग्राहकलाई टोल फ्री नम्बर दिएको छ । टोल फ्रि नम्बरमा कल गरेर ग्राहकले सेवा लिन सक्नेछन् ।

सिप्रदीले पोखरा, हेटौंडा, विरगंज, इटहरी, मेची, ढल्केबगर, नेपालगंज, धनगढीमा रहेका सर्भिस सेन्टरबाट सेवा प्रदान गर्नेछ । साथै, ग्राहकको फोनको आधारमा सेवा प्रदान गर्नेगरी तयारी गरेको जनाएको छ । बुटवल, चितवन, धरान र जनकपुरमा रहेका टाटाको आधिकारीक सर्भिस सेन्टरले पनि फोनको आधारमा सेवा प्रदान गर्नेछन् ।


Back_to_top