यसरी काठमाडौं आयो बीवाइडी ‘एटो थ्री’ (फोटोसहित)

काठमाडौं । लामो प्रतिक्षापछि बीवाइडीको ग्लोबल मोडल एटो थ्री नेपाल आएको छ । केरुङ नाकाबाट नेपाल प्रबेश गरेको एटो थ्री काठमाडौं आइपुगेको हो ।

करिब दुई महिना अघि नै बजारमा आउने मिति घोषणा भएको भएपनि चीनमा कोभिड १९ को कारण नाका बन्द हुँदा ढिलोगरी एटो थ्री नेपाल आएको हो । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले आगामी शनिवार एटो थ्री बजारमा ल्याउन लागेको जनाएको छ ।

नेपालमा सार्वजनिक हुने मिति घोषणा भएकै समयमा एटो थ्रीले यूरो एनक्याप क्रयास टेष्टमा फाइभ स्टार रेटिङ पाएको छ । चिनियाँ निर्माताले उत्पादन गरेको एटो थ्रीको राइट ह्यान्ड र लेफ्ट ह्यान्ड ड्राइभ दुबै अप्सनको क्रयास टेष्ट गरिएको थियो । दुबैले फाइभ स्टार सुरक्षा रेटिङ पाएका हुन् ।

बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा तयार भएको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन यसको सबैभन्दा सबल पक्ष हो । १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग रहेका छन् ।

एटो थ्रीले उक्त टेष्टमा एडल्ट अकुपेन्ट सुरक्षा परीक्षणमा ३८ अंकमा ३४.७ अंक पाएको थियो । बीवाइडी एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ ।

अहिलेसम्म नेपालमा उपलब्ध बीवाइडीको कार मध्ये सबैभन्दा पावरफुल मोटर रहेको एटो थ्रीले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एक्सीलेरेसन पनि उत्कृष्ट रहेको छ । गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल ७.३ सेकेन्डमा भेट्टाउने छ ।


Back_to_top