धेरैको प्यारो बन्दै नेटा भी, डिजाइन र पर्फमेन्स बलियो पक्ष

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपालमा विक्री सुरु गरेको नेटा भी क्रसओभर सेग्मेन्टमा गेमचेन्जर मोडल हो भन्दा फरक पर्दैन । नेपाल आएको छोटो समयमा नै यसको सडकमा राम्रो उपस्थिति देख्न सकिन्छ । डेडिकेटेड ईभी प्लेटफर्ममा तयार भएको नेटा भी बेबी टेस्लाको झल्को दिने क्रसओभर कम्प्याक्ट कार हो ।

बाहिरबाट झट्ट हेदा करिब ८० प्रतिशत टेस्ला मोडल थ्रीसँग मिल्ने नेटा भीको भित्री बनोट पनि टेस्लाबाट प्रभावित भएको देख्न सकिन्छ । ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम, बटम बिनाको ड्यासबोर्ड र आरामदायी सिट यसको सबैभन्दा बलिया पक्ष हुन् ।

चिनियाँ स्टाटअप कम्पनी होजोन मोटर्सले उत्पादन गरेको पहिलो क्रसओभर नेटा भी चीनमा पनि सफल मोडल मानिन्छ । सन् २०१८ बाट बजारमा प्रबेश गरेको होजोन मोटर्स चीनको सफल स्टाटअप कम्पनी बनिसकेको छ । नेपालमा चौधरी समूहले ल्याएदेखि नै यसको चर्चा सुरु भएको थियो ।

मेरोअटो टिमले नेटा भीलाई काठमाडौंको मध्यबानेश्वरबाट सूर्यविनायक हुँदै कच्ची बाटोको प्रयोग गरेर गुन्डु क्षेत्रमा रहेको पिकनिक स्पटमा लगेका थियौं । मेरोअटो टिमले यसको टेष्ट ड्राइभ चालकसहित ४ जना राखेर गरेको थियो । हाम्रो परिक्षणको पहिलो लक्ष्य यसको ग्राउन्ड क्लियरेन्सले कति दुःख दिन्छ भन्ने विषयमा केन्द्रित थियो । तर, हामीले लगेको कच्ची बाटोमा यसको ग्राउन्ड क्लियरेन्सले कुनै दुःख दिएन ।

गाडी चालकले आफ्नो गाडीको ग्राउन्ड क्लियरेन्स दिमागमा राखेर चलाउने हो भने नेटा भी सामान्य किसिमको कच्ची बाटोको लागि उपयुक्त मोडल बन्नेछ । दोस्रो हामीले ध्यान दिएको विषय यसको पावर हो । नेटा भीमा कम्पनीले ७० किलोवाट पीकपावर भएको मोटर दिएको छ । ७० किलोवाट पीक पावरको मतलव अधिकतम ९५ पीएस पावर हो । यो औषत नेपालमा सबैभन्दा धेरै विक्री हुने सेग्मेन्टको कारमा हुने पावरभन्दा धेरै हो ।

हामीले करिब ३० किलोमिटर हाराहारी मात्रै चलाएको कारण यसको फुल चार्जमा कति रेन्ज आउँछ भन्ने एकिन गर्न नसकिए पनि सहजै ३०० किलोमिटर रेन्ज पाउने अनुमान गर्न सकिन्छ । करिब १० प्रतिशत चार्जमा हामीले ३० किलोमिटर यात्रा गरेका थियौं । नेटा भीमा ३८.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक पाउन सकिन्छ ।

कम्प्याक्ट साइज यसको अर्को विशेषता हो । लम्बाईमा सब फोर मिटर एसयूभीहरु भन्दा पनि लामो नेटा भी चौडाई र उचाईमा अल्ली कम छ । यसको लम्बाई ४०७० एमएम, चौडाई १६९० एमएम र उचाई १५४० एमएम छ । २४२० एमएमको ह्वीलबेस र १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । नेटा भी क्रसओभरमा १६ इन्चको ह्वील दिइएको छ ।

सुरक्षाको हिसावले पनि नेटा भीमा थुप्रै आधुनिक फिचर पाउन सकिन्छ । एबीएस, इबीडी, पावर विन्डो, सेफ्टी लक, दुई एयरब्याग, सिटवेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर, पार्किङ क्यामेरा र एड्भान्स सेफ्टी फिचरमा इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर, भेहिकल मेन्टीनेन्स रिमाइन्डर, हाइड्रोलिक ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेटा भीको एउटा मात्रै भेरियन्ट नेपालमा उपलब्ध गराएको छ । यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । यसमा दशै स्कीम पनि कम्पनीले उपलब्ध गराई रहेको छ ।


Back_to_top