भारतीय बजारमा आक्रमक बन्दै निसान, एकैपटक देखायो ३ एसयूभी

काठमाडौं । निसान इण्डियाले एकैपटक ३ वटा एसयूभी अनभिल (अनावरण) गरेको छ । भारतीय बजारमा म्यागनाइट र किक्स २ वटा मोडलमा मात्र सीमित निसानले एकैपटक थप तीन एसयूभी देखाएको हो ।

निसानले भारतीय बजारमा कस्काई, एक्सट्रयाल र जुक गरी तीन एसयूभी देखाएको हो । निसानको यी तीनैवटा ग्लोबल मोडल हालका लागि भारतमा उत्पादन नगरी सीबीयूको रूपमा आयात गरेर विक्री गर्ने जनाइएको छ ।

निसानले सुरूवातमा कस्काईको विक्री सुरू गर्ने जनाएको छ भने एक्सट्रयाल र जुक भने केही समयको सडक परीक्षणपछि लन्च गर्ने भएको हो ।

निसान कस्काई निसानको ग्लोबल मार्केटको पपुलर मोडल हो । सन् २००७ मा लन्च भएको निसान कस्काई विश्वको ८० भन्दा बढी देशमा ५५ लाख युनिट विक्री भइसकेको छ । यो एसयूभी युरो एनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार पाएको छ भने यसमा कनेक्टेड कार टेक्नलोजी र हाइब्रिड पावरट्रेन रहेको छ ।

निसानले एक्स ट्रयाल मार्फत भारतको ७ सिटे एसयूभी बजार हेरिरहेको छ । निसानले भारतीय बजारमा स्थापित टोयोटा फर्चुनर, एमजी ग्लस्टर, महिन्द्रा अल्टुरस, जीप मेरिडीयन, स्कोडा कोडियाक तथा फक्सवागेन टाइगुनको बजारमा एक्सट्रयाललाई स्थापित गर्ने जनाएको छ । एक्स ट्रयाल पनि हाइब्रिड पावरट्रेनमा उपलब्ध रहने कम्पनीले बताएको छ ।

निसानले मिडसाइज एसयूभी मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने ४.२ मिटर लम्बाइ भएको सेकेण्ड जेनेरेसन जुक पनि आजै देखाएको छ । यो एसयूभीमा स्ट्रङ हाइब्रिड सिस्टम सहितको १.६ लिटरको टर्बो पेट्रोल इन्जीन रहेको छ । जसका कारण यो एसयूभीले उत्कृष्ट फ्युल इकोनोमी दिने अनुमान गरिएको छ ।

यसको सिधा प्रतिस्पर्धा हालै भारतीय बजारमा लन्च भएको टोयोटा हाइराइडर र मारुती ग्राण्ड भिटारासँग हुनेछ ।


Back_to_top