क्रेटाको क्रेज र उपभोक्ताको निरासा !

काठमाडौं । ‘पैसा छ, इच्छा पनि छ । तर, खोजेको गाडी छैन । यहाँ पैसा केको लागि कमाउनु ?’ थापाथलीको गाडी शोरुममा भेटिएका काठमाडौं बुढानीलकण्ठका सुविन श्रेष्ठ गुनासो गर्दै थिए । केही महिना अघि मात्रै जर्मनीबाट फर्किएका श्रेष्ठ यही इन्टेरियर डिजाइनको व्यवसाय सुरू गर्दैछन् ।

‘व्यवसाय पनि गरौं, त्यसको लागि एउटा औषत मूल्यको गाडी किनौं भनेर आएको गाडी नै पाइएन । गाडी किन्नका लागि नगद रकम पनि तयार नै छ’, श्रेष्ठले मेरो अटोसँग भने ।

उनले किन्न खोजेको हुन्डाई क्रेटा हो । सन् २०२० देखि नै नेपालमा उच्च माग र कम सप्लाइको समस्या भोग्दै आएको क्रेटा अहिले त झन् किन्न पाउने अवस्था नै छैन । हुन्डाईको सर्वाधिक सफल एसयूभी क्रेटा फिचर र मूल्यको कारण जति चर्चित छ, त्योभन्दा धेरै रिसेल मूल्यको कारण धेरै मानिसको रोजाइमा पर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले २०७८ चैत २१ गते वाणिज्य बैंकका सीईओहरूलाई बोलाएर निजी प्रयोगको लागि आउने पेट्रोलियम पदार्थबाट चल्ने कारको प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएसँगै गाडी आयातको बाटो बन्द हुँदा नगद तिरेर पनि खोजेको गाडी किन्न नपाउने अवस्था आएको हो ।

चैत २१ अगाडि एलसी खोलेको गाडी आयात सकिएको कारण हुन्डाई क्रेटा अब आयात खुल्ला नभएसम्म नेपाल आउन सक्ने अवस्थामा छैन । यो समस्या क्रेटामा मात्र होइन अन्य ब्राण्डका चल्तीका सबै मोडलमा छ । त्यसैले सरकारले गरेको आयात प्रतिबन्धको असर कहाँ र कस्तो परेको छ भन्ने एकीन गर्न कठिन भएको छ । सर्वाधिक लोकप्रिय मोडल क्रेटा एक यूनिट पनि किन्न नपाउँदा ग्राहक भने खिन्न छन् ।

यस्तो छ हुन्डाई क्रेटा

हुन्डाईको पछिल्लो ग्लोबल डिजाइन थेममा तयार भएको क्रेटा साधारण तर, निकै आकर्षक रहेको छ । क्रेटामा प्रयोग भएको थ्री आई प्रोजेक्टर हेडल्याम्प, आकर्षक ठूलो ग्रिल, एलईडी डे टाइम रनिङ लाइटले यसको फ्रन्ट फेसिका उत्कृष्ट लाग्छ ।

साथै, स्टाइलिस अलोय ह्वील, रुफरेल, ड्यूल कलर पेन्ट, एलईडी टेलल्याम्प जस्ता फिचरले यसको आकर्षणमा थप निखारता ल्याएको छ । नयाँ जेनेरेशन क्रेटामा आइपुग्दा यसको अगाडि र पछाडिको दुवै भागमा व्यापक परिमार्जन भएकै कारण ग्राहकको रोजाइमा पर्न सफल भएको हो ।

हुन्डाईले क्रेटामा दिएको १.५ लिटर इन्जिन पनि निकै सफल मानिन्छ । नेपाली बजारमा क्रेटाको नेचुरल एस्पायर्ड इन्जिनमा पेट्रोल र डिजेल भर्सन उपलब्ध छ । क्रेटामा रहेको पेट्रोल इन्जिनले ११५ पीएस पावर र १४४ एनएम टर्क प्रदान गर्छ भने डिजेल इन्जिनले अधिकतम ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ ।

क्रेटा धेरै खोजी हुनुको अर्को कारण यसमा उपलब्ध फिचरहरू हुन् । क्रेटामा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, बोसको ८ वटा प्रिमियम स्पीकर, हुन्डाईको ब्ल्यू लिंक कनेक्टीभिटी पाउन सकिन्छ ।

आजकल धेरै चर्चा हुने पानारोमिक सनरुफ, भ्यान्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, ७ इन्चको टिएफटी कलर इन्ट्रुमेन्ट क्लष्टर, स्मार्ट प्यूरिफयर, तीन फरक ड्राइभिङ मोड, रिमोट इन्जिन स्टाट सुविधा क्रेटामा उपलब्ध भएका कारण मानिसले धेरै खोज्ने गरेका छन् ।


Back_to_top