काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनी क्यूजे मोटर्सले भारतीय बजारमा प्रवेश गरेको छ । कम्पनीले ४ मोडलका मोटरसाइकल सहित भारतमा प्रबेश गरेको हो ।
कम्पनीले केही दिन अघि क्यूजे मोटर्स भारतमा उपलब्ध हुने घोषणा गरेको थियो भने हाल कम्पनीले मोडलसहित मूल्यसमेत सार्वजनिक गरेको छ । कम्पनीले नेकेड स्पोर्टस्, रोडस्टार र क्रुजर मोडल सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको मोटरसाइकलहरुले पल्सरदेखि रोयल इनफिल्डसम्मका मोटरसाइकललाई टक्कर दिनेछ ।
कम्पनीले सार्वजनिक गरेको सबैभन्दा कम मूल्य तथा कम सीसीको मोटरसाइकल एसआरसी रहेको छ । यो मोटरसाइकलमा २४९ सीसी प्यारलल ट्वीन सिलिन्डर इन्जिन रहेको । यसको मूल्य १ लाख ९९ हजार भारतीय रुपैयाँ तोकेको छ ।
त्यस्तै अर्को मोटरसाइकल एसआरसी ५०० रहेको छ । यो मोटरसाइकलमा ४८० सीसी सिंगल सिलिन्डर इन्जिन दिएको छ । यसको मूल्य २ लाख ५९ हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ ।
त्यसैगरी, कम्पनीले क्रुजर सेग्मेन्टमा एसआरभी ३०० क्रुजर मोटरसाइकल सार्वजनिक गरेको हो । यसमा २९६ सीसी ट्वीन इन्जिन दिएको छ । यसको मूल्य ३ लाख ४९ हजार भारतीय रुपैयाँ तोकेको छ ।
यसका साथै कम्पनीको सबैभन्दा महंगो मोटरसाइकल एसआरके ४०० रहेको छ । नेकेड स्पोर्टस सेग्मेन्टको यो मोटरसाइकलमा ४०० सीसी प्यारलल ट्वीन सिलिन्डर इन्जिन रहेको छ । यसको मूल्य ३ लाख ५९ हजार भारतीय रुपैयाँ रहेको छ ।
क्यूजे मोटर्स चिनियाँ ब्राण्ड हो । कम्पनीले इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीका मोटरसाइकल समेत उत्पादन गर्दै आएको छ ।

