काठमाडौं । एमजीको इलेक्ट्रीक क्रसओभर एमजी–४ ले यूरो एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । कम्पनीले गराएको राइट ह्याण्ड ड्राइभ मोडलले क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको हो ।
एमजी फोरले ३८ प्वइन्टमा ३१.६ अंक सहित एडल्ट प्यासेन्जर सेफ्टीमा ५ स्टार पाएको थियो । त्यसैगरी चाइल्ड सेफ्टीमा ४९ अंकमा ३९.५ अंक पाएको एमजी ४ ले समग्रमा १६ अंकमा १२.६ अंकसहित ५ स्टार रेटिङ पाएको हो ।
पैदल यात्रुको सुरक्षामा पनि एमजी ४ अब्बल देखिएको छ । एमजी ४ दुई ब्याट्री अप्सनमा र तीन मोटर अप्सनमा सार्वजनिक भएको छ । कम्पनीले यसलाई १२५ किलोवाट, १५० किलोवाट र ३१५ किलोवाटको मोटरमा सार्वजनिक गरेको हो ।

सबैभन्दा सानो ब्याट्री प्रयोग भएको भर्सनले सिंगल चार्जमा ३५० किलोमिटर र ठूलो ब्याट्री भएको लङ रेन्ज मोडलले ५२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।
एमजी ४ नेपाली बजारमा पनि उपलब्ध हुन सक्ने कार हो । एमजीको नयाँ ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चर’मा तयार भएको यो कार रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । यो कारको ड्राइभिङ एक्सपीरियन्स राम्रो बनाउन एमजीले कुनै कसर बाँकी नराखेको जनाएको छ ।
एमजीले यसको लागि निकै पातलो साइजको ब्याट्री प्रयोग गरेको जनाएको छ । यसमा रहेको ब्याट्रीको हाइट ४.३ इन्च मात्रै रहेको छ । यो ह्याचव्याकले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८ सेकेन्ड लगाउँछ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघन्टा रहेको छ ।


