चालक नचाहिने टेक्नोलोजीमा एप्पलको कार, यस्तो छ अनुमानित मूल्य

काठमाडौं । अमेरिकी टेक्नलोजी जायन्ट एप्पलको पहिलो अटोमोवाइल प्रोडक्ट तत्काल आउनेमा शंका उत्पन्न भएको छ । एप्पलको आन्तरिक जानकारहरुले बताए अनुसार सन् २०२६ बाट मात्रै एप्पल कार विक्री सुरु हुने भएको हो ।

यसअघि सन् २०२५ बाट बजारमा आउने अनुमान गरिएको कार प्रोजेक्ट एक वर्ष पछाडि धकेलिएको हो । ब्लूमबर्गले प्रकाशित गरेको रिपोर्ट अनुसार एप्पलले बनाउँदै गरेको कारमा पहिलो पटक लेभल ५ अटोनोमस ड्राइभिङ सिस्टम रहनेछ ।

चालक वीना नै चल्न सक्ने टेक्नोलोजी प्रयोग हुने कारमा पावरफुल अनबोर्ड कम्प्यूटर सिस्टम जडान हुनेछ । जसको कोडनेम नर्थ अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली राखिएको छ । यसको प्रोसेसरको पफर्मेन्स एप्पलको सबैभन्दा प्रिमियम म्याकमा प्रयोग भएको चीप बरावरको हुनेछ ।

एप्पल कारमा टेस्लाको भन्दा राम्रोे अटोमेटेड टेक्नलोजी हुनेछ । एप्पलले यो टेक्नलोजीमा लाइडार, राडार सेन्सरका साथै क्यामराहरुको प्रयोग गर्नेछ । यसले कारको लोकेसन, ड्राइभिङ लेन तथा बाटोमा रहेका व्यक्ति र वस्तुहरु कति टाढा छ, सबै निक्र्यौल गर्छ ।

यसका अलावा एप्पल कारको हार्डवेरमा आर्टिफिसीयल इन्टेलीजेन्स सहितको क्लाउडवेस कम्पोनेन्ट प्रयोग हुनेछ । एप्पलले आफ्नो नयाँ प्रोजेक्टका लागि वार्षिक रुपमा १ बिलियन डलर लगानी गरिरहेको अनुमान गरिएको छ ।

शुरुवातमा एप्पल कारको मूल्य १ लाख २० हजार डलर पर्ने अनुमान गरिएता पनि कम्पनीले १ लाख डलर भित्रै लन्च गर्ने चर्चा सुरु भएको छ । एप्पलले आफ्नो पहिलो कार उत्पादनका लागि विभिन्न अटोमोवाइल कम्पनीसँग स्केटबोर्ड प्ल्याटफर्मका लागि वार्ता गरेता पनि फक्वागेन एजीसँग धेरै अघि बढेको बताएको छ ।


Back_to_top