सिगल र सिलायन दुई नयाँ मोडल ल्याउँदै बीवाइडी, यस्ता छन् फिचर

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडी अहिले सर्वाधिक ग्रोथ गरिरहेको ब्राण्ड हो । न्यू इनर्जी भेहिकल उत्पादकको रुपमा सबै कम्पनीलाई उछिनेको बीवाइडीले एकपछि अर्को देशमा आफ्नो उपस्थिति जनाउँदै आएको छ ।

अहिले चिनभन्दा बाहिर विश्वका ७० देशमा करिब ५०० आउटलेटबाट बीवाइडीले गाडी विक्री सुरु गरेको छ । अहिले एटो ३ मोडल विक्री थालेको कम्पनीले डल्फिन ह्याचव्याक र सिल प्रिमियम सेडान पनि क्रमिक रुपमा सार्वजनिक गर्दै आएको छ ।

कम्पनीले आफ्नो आक्रमक बजार विस्तारको रणनीतिलाई साकार बनाउन मरिन डिजाइन कन्सेप्टमा आधारित रहेर दुई नयाँ मोडल सिलायन र सिगल पनि ल्याउने भएको हो । सन् २०२२ मा २० लाख यूनिट न्यू इनर्जी भेहिकलको विक्री कटाउने भएसँगै नयाँ मोडलको तयारीमा जुटेको हो । अहिले चिनियाँ मिडियाले बीवाइडीले विकास गरिरहेको फ्यूचर ईभी कार मोडलहरुको स्पाई सटहरु सार्वजनिक गरिरहेका छन् ।

बीवाइडी सिगल (एटो २)

बीवाइडी डल्फिनपछि विकास भएको अर्को ह्याचव्याक सिगल हो । डल्फिनभन्दा सानो साइजको यो कार अहिले परिक्षणको क्रममा रहेको छ । मिडियाहरुले छापेको तस्विरलाई आधार मान्दा नयाँ सिगल ईभीमा स्मुद फ्रन्ट फेसिया, वेजसेपको हेडल्याम्प तथा ठूलो साइजको विण्डसिल्ड देख्न सकिन्छ ।

यसमा सिंगल वाइपर व्लेड मात्रै देखिन्छ । यसको मतलव कारको मूल्य कम गर्न कम्पनीले प्रयत्न गरेको हुनसक्छ । यसको टेलल्याम्प एलइडी रहेको छ ।

सिगलको इन्टेरियर डल्फिन र सिलबाट प्रभावित भएको देखिन्छ । यसमा थ्री स्पोक फ्ल्याटबटम स्टेरिङ ह्वील, सानो साइजको इन्ट्रुमेन्ट क्लस्टर, सेन्टर कन्सोलमा गियर सेलेक्टर र इन्फोटेन्मेन्ट सिस्टम रहने छ ।

वायरलेस फोन चार्जरको सुविधा रहने ह्याचब्याकमा लेदर र्याप स्टेरिङ ह्वील र लेदर सिट कभर पाउन सकिन्छ । चीनमा सिगल नामले विक्री हुने यो कार अन्तर्राष्ट्रिय बजारमा एटो २ नामले आउने सम्भावना छ ।

बीवाइडीले यसमा सोडियन आयोन र लिथियम आयोन गरी दुई फरक केमेस्ट्रीको ब्याट्री दिन सक्ने अनुमान गरिएको छ । सोडियम आयोन ब्याट्रीको रेन्ज ३०० किलोमिटर र लिथियम आयोन ब्याट्रीको रेन्ज ४०० किलोमिटर रहने छ ।

बीवाइडीले सिगलमा ३०.७ किलोवाट आवर र ४४.९ किलोवाट आवरको दुई फरक ब्याट्री दिनेछ । ७० किलोवाट र १३० किलोवाटका दुई फरक मोटरमा आउने एटो २ आकर्षक फ्यामली कार हुनेछ ।

सिलायन (एटो ५ वा ६)

बीवाइडीको सिलायन कम्पनीको मिडसाइज इलेक्ट्रीक एसयूभी हो । बीवाइडीको सिलमा आधारित भएको एसयूभी हो । यसको प्रत्येक्ष प्रतिस्पर्धा हुन्डाई आयोनीक ५, निसान आरिया तथा टेस्ला मोडल वाईसँग हुने अनुमान गरिएको छ ।

कम्पनीले सिलायनको डिजाइन र्याक्डव्याक ग्लाससहित क्रसओभर डिजाइनमा गरेको छ । स्वीप्टव्याक हेडल्याम्प, स्पोर्टी फ्रन्ट बम्पर, पेन्टागन सेपको आउटरइन्ड तथा प्रमिनेन्ट रुफ स्पोइलरले गाडीमा आकर्षण थपेको छ ।

सिलायनमाको इन्टेरियरमा १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम र १०.२५ इन्चको डायगनल इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसको लम्वाई ४७७० एमएम, चौडाई १९१० एमएम र उचाई १६२० एमएम रहेको छ ।

बीवाइडीले सिलयनमा २९०० एमएमको ह्वीलवेस दिने छ भने सिलमा जस्तै ८२.२ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ । यसलाई सिंगल चार्जमा ७०० किलोमिटरसम्म गुडाउन सकिने छ ।

चिनियाँ बजारमा सिलायन नाम दिइए पनि अन्तर्राष्ट्रिय बजारमा यसको नाम एटो ५ वा ६ रहने सम्भावना छ ।


Back_to_top