काठमाडौं । विद्युतीय गाडी कम मूल्यमा उपलब्ध गराउने प्रतिस्पर्धा सुरु भएको छ । विश्वका ठूलादेखि स्टाटअप कम्पनीहरु ईभी उत्पादनमा केन्द्रीत भएसँगै साना र कम मूल्यका ईभी नेपाली बजारमा ल्याउन विभिन्न आयातकर्ता कम्पनीहरु लागि परेका छन् ।
भारतमा उत्पादन भएको सबैभन्दा सस्तो कार पीएमभी इलेक्ट्रीकको इएएस-ई टु मोडल नेपाल आउने भएको छ । गोल्छा अर्गनाइजेशनको जीओ अटोमोवाइल कम्पनीले नेपाल ल्याउने उक्त मोडलको सुरुवाती मूल्य १२ लाख हाराहारी पर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी ह्वाजी अटोले उत्पादन गरेको इलेक्ट्रीक कार पनि नेपाली बजारमा चाँडै विक्री सुरु हुने जनाइएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपालमा विक्री सुरु गर्न लागेको ह्वाजीको सिटी कारको मूल्य २० लाख हाराहारी पर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।

ह्वाजीको यो सिटी कार फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसमा १५ इन्चको ह्वील, १८ किलोवाट आवरको ब्याट्री र २४ किलोवाटको मोटर रहने छ । सहरी क्षेत्रको लागि उपयुक्त यो कारले सिंगल चार्जमा २२५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।
गोल्छा अर्गनाइजेशन अन्तर्गतको कम्पनी जिओ अटोमोवाइलले नेपाल ल्याउन लागेको पीएमभी इएएस-ई टु मोडल २ जनाले मात्रै यात्रा गर्न मिल्ने सानो कार हो । विभिन्न तीन ड्राइभिङ रेन्जमा उपलब्ध हुने इएएस-ई टुको टप भेरियन्टले सिंगल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीको दावी छ । यसको ब्याट्री अप्सनको विषयमा धेरै कुरा बाहिर आएको छैन ।

विद्युतीय कार भएको कारण यी दुबै सहर केन्द्रित कारमा आधुनिक फिचर पाउन सकिन्छ । एलइडी लाइट, हिल होल्ड, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल क्लष्टर, यूएसबी पोर्ट जस्ता फिचर पाउन सकिन्छ ।
यी दुई मध्ये ह्वाजीको मिनी कार पहिला नेपाल आउने छ । सिजी मोटर्सका अनुसार अबको दुई हप्ता भित्रै यो मिनी कार नेपाल आइपुग्ने छ । तर, इएएस-ई टु कार भने सन् २०२३ को पहिलो क्वाटरको अन्त्यसम्ममा नेपाल आउने छ ।


