काठमाडौं । रोयल इनफिल्डले स्पेनीस इलेक्ट्रीक मोटरसाइकल कम्पनी स्टार्क फ्यूचरको सेयर खरिद गरेको छ । कम्पनीले इलेक्ट्रीक मोटरसाइकल कम्पनी स्टार्कको १० दशमलव ३५ प्रतिशत सेयर खरिद गरेको हो ।
स्पेनीस कम्पनी स्टार्क फ्यूचरले इलेक्ट्रीक डर्ट बाइक उत्पादन गर्दै आएको छ । भारतको चेन्नाईमा रहेको प्रिमियम मोटरसाइकल उत्पादक कम्पनी रोयल इनफिल्डले ५० मिलियन डलरमा स्टार्क फ्यूचरको १० दशमलव ३५ प्रतिशत सेयर खरिद गरेको हो ।
स्टार्क फ्यूचरमा लगानी गरेपछि रोयल इनफिल्डले हिमालयनको इलेक्ट्रीक भर्सन बनाउने चर्चा बढेको छ । स्टार्क फ्यूचरले हाल ‘भर्ग’ इलेक्ट्रीक डर्ट बाइक उत्पादन तथा विक्री गर्दै आएको छ ।
स्टार्क फ्यूचरका अनुसार यो मोटरसाइकल सबैभन्दा एड्भान्स इलेक्ट्रीक डर्ट बाइक हो । कम्पनीका अनुसार यो बाइकमा भएको मोटरले ८० बीएच पावर जेनेरेट गर्छ भने यसको तौल जम्मा ११० केजी मात्रै रहेको छ । एक पटक फुल चार्ज गरेर यो बाइकलाई ६ घन्टा चलाउन सकिने कम्पनीको दावी छ ।
यसअघि नै रोयल इनफिल्ड हिमालयन इलेक्ट्रीक भर्सनमा आउने चर्चा भइरहेको थियो । त्यसमा इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनीमा नै लगानी गरेपश्चात् इलेक्ट्रीक मोटरसाइकलको लाइनअपमा कम्पनीले काम सुरु गर्ने चर्चा भइरहेको छ ।
२०२६ सम्ममा रोयल इनफिल्डले इलेक्ट्रीक मोटरसाइकल बजारमा ल्याउन सक्ने अनुमान गरिएको छ ।

