विद्युतीय दुई पाङ्ग्रेको आयात तीन गुणा वृद्धि, बजाज र टीभीएसले विक्री सुरु गर्दै

काठमाडौं । सन् २०२२ मा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको आयात निकै वृद्धि भएको छ । सन् २०२१ को तुलनामा २०२२ मा इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको आयात ३ गुणाले वृद्धि भएको हो ।

सन् २०२१ मा २ हजार १८१ यूनिट मात्र इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको आयात भएकोमा २०२२ को अन्त्यसम्ममा ६ हजार ७७८ यूनिट आयात भएको देखिन्छ ।

कम्वश्चन इन्जिनतर्फ झन्डै ५० प्रतिशत हाराहारीमा आयात कम हुँदा इलेक्ट्रीक सेग्मेन्टमा भने आयात वृद्धि भएको हो । महंगो पेट्रोलको मूल्य र संचालन खर्चको कारण धेरै मानिस विद्युतीय स्कुटर तथा मोटरसाइकलमा आकर्षित हुन थालेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य सन् २०२२ मा २०० रुपैयाँ प्रति लिटरसम्म पुगेको थियो । त्योसँगै विभिन्न ३५ भन्दा धेरै ब्रान्डले इलेक्ट्रीक स्कुटर र मोटरसाइकल ल्याउन थालेका हुन् । अहिले पनि नयाँ ब्राण्ड आउने प्रक्रिया चलिरहेको छ ।

विद्युतीय चार पाङ्ग्रे सवारी साधनको तुलनामा दुई पाङ्ग्रे साधनमा आकर्षण आउन सकिरहेको छैन । यसको मुख्य कारण मूल्यलाई मानिन्छ । बजारमा उपलब्ध आइसी इन्जिन भएका स्कुटर र मोटरसाइकलको तुलनामा ईभीको मूल्य महंगो छ ।

मूल्यको हिसावले महंगो र चार्ज गर्ने झन्झटको कारण मोटरसाइकल र स्कुटरमा इलेक्ट्रीकलाई अझै केही वर्ष लाग्ने अटो विक्रेताहरुको भनाई छ । अहिले चल्तीका कम्पनीले इलेक्ट्रीक दुई पाङ्ग्रे ल्याउने र कम्वश्चन इन्जिनको आयात क्रमिक रुपमा कम हुँदै जाने उनिहरुको भनाइ छ ।

नेपाली बजारमा भारत, चीन लगायतका देशमा उत्पादन भएका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनहरु विक्री भइरहेको छन् । एनआईयू, जम्वो, सेगवे, ओपाइ, याडिया, टेल्जी, ओकिनवा, प्योर इभी, लेभनिङ जस्ता ब्रान्डका स्कुटर नेपाली बजारमा चल्तीमा छन् ।

परम्परागत ब्राण्ड बजाज र टीभीएस जस्ता कम्पनीले चाँडै नै आफ्ना इलेक्ट्रीक स्कुटर नेपालमा विक्री सुरु गर्ने भएका छन् । बजाज तथा टीभीएसले इलेक्ट्रीक स्कुटरको विक्री सुरु गरे पश्चात् इलेक्ट्रीक स्कुटरको संख्या अझ वृद्धि हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top