एमजीको ‘प्लगइन हाइब्रिड एचएस’, ब्याट्रीबाटै दैनिकी चल्ने

काठमाडौं । एमजीले ईभीसँगै प्लगइन हाइब्रिड मोडल पनि ल्याउन थालेको छ । कम्पनीले आफ्नो सफल एसयूभी एचएसलाई प्लगइन हाइब्रिडमा ल्याएको हो ।

अहिले भारतमा जारी अटो एक्स्पो २०२३ मा राखिएको प्लगइन हाइब्रिड एचएसमा नेपाल पनि आउने सम्भावना रहेको मोडल हो । अहिले पनि एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले एचएस मोडल विक्री गर्दै आएको छ ।

यूरोपियन बजारमा विक्री हुँदै आएको प्लगइन हाइब्रिड एचएस निकै प्रिमियम फिचरको साथ आएको छ । यसको लम्बाई ४५८० एमएम रहेको छ । मिडसाइज एसयूभी सेग्मेन्टमा आउने यो एसयूभीको इन्टेरियर निकै प्रिमियम छ ।

धेरै स्थानमा क्रोम फिनिसिङ दिइएको प्लगइन एचएसमा अल–अराउन्ड बडी क्लाडिङ दिइएको छ । कम्पनीले एचएस हाइब्रिडमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । यसले १६२ पीएस पावर र २५० एनएम टर्क उत्पादन गर्दछ ।

यसमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । जुन १२२ पीएस पावर बराबर हो । यी दुई मोटरको संयुक्त पावर २५८ पीएस बारबर हुन्छ । प्लगइन हाइब्रिडको लागि यसमा लिथियम आयोन ब्याट्री दिइएको छ ।

एमजी एचएस प्लगइन हाइब्रिड मोडलमा १६.६ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ५२ किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यो रेन्जले सहरी क्षेत्रमा आफ्नो दैनिकी धान्न सक्ने देखिन्छ ।

एसयूभीलाई प्रिमियम बनाउन एचएसमा १२.३ इन्चको फराकिलो डिजिटल ड्राइभर डिस्प्लेको साथमा १०.१ इन्चको टच स्क्रृन, कनेक्टेड कार टेक, डुअल जोन एसी, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट लगायतका फिचर पाउन सकिन्छ ।

यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ३६० डिग्री भ्यू क्यामेरा, फ्रन्ट र रियर पार्किङ सेन्सर, एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ ।


Back_to_top