काठमाडौं । भारतमा टाटाले आफ्नो नेक्सन ईभीको मूल्यमा एकै पटक ८५ हजार भारतीय रुपैयाँसम्मले कटौती गरेको छ । कम्पनीले भेरियन्ट अनुसार कम्तीमा ३१ हजारदेखि ८५ हजारसम्म मूल्य कटौती गरेको हो ।
महिन्द्राले एक्सयूभी ४०० सार्वजनिक गरेसँगै टाटाले नेक्सन ईभीको मूल्यमा भारी कटौती गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । टाटाको म्याक्स मोडलसँग प्रतिस्पर्धा गर्ने एक्स्यूभी ४०० को तुलनामा अझैपनि नेक्सनको मूल्य बढी छ ।
सन् २०२२ मा ५० हजार यूनिट नेक्सन ईभी विक्री गरेको कम्पनीले सन् २०२३ मा विक्री दोब्बर बनाउने योजना बनाएको छ । त्यही योजना अनुसार अन्य मोडलले विक्रीमा असर पार्न नसककोस् भनेर मूल्य कटौती गरिएको हो ।
पहिलेको मूल्य अनुसार नेक्सन ईभी प्राइम मोडल र एक्सयूभी ४०० बीच १ लाख रुपैयाँको मात्रै अन्तर थियो । अब मूल्य घटाएपछि प्राइम मोडल कम्तीमा १ लाख ५० हजार भारतीय रुपैयाँको अन्तर कायम भएको छ । यसले नेक्सन ईभीको विक्रीलाई फाइदा पुग्ने कम्पनीले विश्वास लिएको छ ।
टाटाले यसअघि विक्री गर्दै आएको स्टायडर्ड (प्राइम) मोडलको एक्सएम भेरियन्टको मूल्य १४ लाख ९९ हजारबाट घटेर १४ लाख ४९ हजार कायम भएको छ । त्यस्तै एक्स्जेड प्लस भेरियन्टको मूल्य १६ लाख ३० हजारबाट घटाएर १५ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य १७ लाख ३० हजारबाट घटेर १६ लाख ९९ हजार भरतीय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी म्याक्स मोडलको एक्सएमको मूल्य १६ लाख ४९ हजार यथावत राखिएको छ । एक्सजेड प्लस ३.३ किलोवाट अनवोर्ड चार्जर भएको भेरियन्टमा ८५ हजारले मूल्य घटाएर १८ लाख ३४ हजार बनाइएको छ । सोही चार्जर भएको एक्स्जेड प्लस लग्जरी भेरियन्टमा पनि ८५ हजारले मूल्य घटेर १८ लाख ४९ हजार तोकिएको छ ।
साथै, कम्पनीले अनबोड चार्जर ७.२ किलोवाट रहेको म्याक्स मोडलको एक्सएम भेरियन्टको मूल्य यथावत १६ लाख ९९ हजार राखिएको छ । कम्पनीले एक्सजेड प्लस भेरियन्टको मूल्य ८५ हजार रुपैयाँले घटाएर १७ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य पनि समान ८५ हजारले घटाएर १८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।

