पाँच लाखभन्दा बढी ईभी विक्री गर्दै फक्सवागेन ग्रुप बन्यो तेस्रो ठूलो निर्माता

काठमाडौं । जापानी निर्माता टोयोटापछि धेरै कार उत्पादन र विक्री गर्ने दोस्रो ठूलो कम्पनी फक्सवागेन ग्रुपले ईभीमा पनि निकै राम्रो सफलता पाएको छ । टोयोटा ईभीको उत्पादन र वितरणमा अल्मल देखिदा फक्सवागेन ग्रुपले भने ५ लाख ७२ हजार १०० यूनिट ईभी विक्री गर्न सफल भएको हो ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले विक्री बढाउन सफल भएको हो । सन् २०२१ मा कम्पनीले ४ लाख ५२ हजार ८३९ यूनिट ईभी विक्री गरेको थियो । जर्मन निर्माताले सन् २०२३ मा १० लाख यूनिट इलेक्ट्रीक कार विक्री गर्ने लक्ष्य लिएको जनाएको छ ।

सन् २०३० सम्ममा ईभीको विक्री कुल भेहिकलको पचास प्रतिशतभन्दा धेरै गर्ने योजना बनाएको फक्सवागेनले यूरोपमा नै सबैभन्दा धेरै कार विक्री गरेको छ । सन् २०२२ मा कम्पनीले यूरोपमा ३ लाख ५२ हजार, अमेरिकामा ४४ लाख २००, चीनमा १ लाख ५५ हजार ७०० र बाँकी विश्वका अन्य बजारमा २० हजार २०० ईभी विक्री गरेको हो ।

त्यसैगरी ग्रुपको ईभी विक्रीमा सबैभन्दा धेरै फक्सवागेन ब्राण्ड कै हिस्सा छ । गु्रपको कुल ईभी विक्री मध्ये फक्वागेनको ३ लाख २५ हजार १००, अउडीको १ लाख १८ हजार २००, स्कोडा ५३ हजार ७००, पार्स्ेचेको ३४ हजार ८००, सियट तथा कुप्रा ३१ हजार ४०० र कमर्सियल डिभिजनको ८ हजार ९२० युनिट विक्री भएको थियो ।

सबैभन्दा धेरै बिक्ने मोडलमा फक्सवागेन आईडी ४ र ५ भएको छ । यी दुई गरेर १ लाख ९३ हजार २०० युनिट विक्री भएको कम्पनीले जनाएको छ । फक्वागेन कै आईडी-३ को विक्री ७६ हजार ६०० यूनिट भएको थियो ।

ग्रुपमा फक्सवागेनपछि धेरै विक्री भएको मोडल स्कोडा इनयाक हो । यसको विक्री ५३ हजार ७०० युनिट भएको थियो । त्यसपछि अउडी क्यु-४ इट्रोन ५२ हजार २००, फक्सवागेनको आइडी-६को विक्री ३७ हजार ४००, पोर्स्चे टाइकान ३४ हजार ८००, कुप्रा वर्न ३१ हजार ४०० र बाँकी अन्य मोडल ४१ हजार यूनिट विक्री भएको थियो ।

फक्सवागेन ग्रुप अन्तर्गत फक्सवागेन, अउडी, स्कोडा, सियट लगाएतका ब्राण्डहरु रहेका छन् ।


Back_to_top