ट्राफिक नियम नमान्ने कडा कारबाहीमा पर्दै, २५९ जनाको लाइसेन्स खारेजी हुँदै

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध ट्राफिक प्रहरी कडाइका साथ प्रस्तुत हुन थालेको छ । पटकपटक नियम मिचेर कारबाहीमा परेका चालकहरुले फेरि नियम मिच्न थालेपछि ट्राफिकले लाइसेन्स नै खारेज गर्ने प्रक्रिया अघि बढाएको हो ।

यसैक्रममा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने २५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुरमा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक व्यक्ति बढीमा ३६ पटकसम्म र कम्तीमा ६ पटकसम्म कारबाहीमा परेका थिए । यसरी पाँच पटकभन्दा बढी कारबाहीमा परेका सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग मीनभवन पठाएको हो ।

ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै धेरै जसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागि नियम पालना गर्न प्रवक्ता भट्टले सबैलाई अनुरोधसमेत गरेका छन् ।


Back_to_top