काठमाडौं । पपुलर दुईपाङ्ग्रे उत्पादक कम्पनी एलएमएलले लामो समयपछि इलेक्ट्रीक स्कुटरको साथ पुनः बजार प्रवेश गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर ‘स्टार’ अटो एक्स्पो २०२३ मा प्रदर्शन गर्दै आफु बजारमा आउन तयार रहेको जनाउ दिएको हो ।
दुईपाङ्ग्रे सेग्मेन्टमा लामो समयसम्म आफ्नो वर्चश्व कामय राख्न सफल कम्पनी केही समयअघि बन्द भएको थियो । कम्पनीले इलेक्ट्रीक स्कुटरसहित आफूलाई पुनः बजारमा ल्याएको हो ।
ग्रेटर नोयोडामा सम्पन्न अटो एक्स्पोमा कम्पनीले म्याक्सी डिजाइनको इलेक्ट्रीक स्कुटर एलएमएल स्टार प्रदर्शन गरेको थियो । कम्पनीले चाँडै नै यो स्कुटरको विक्री सुरू गर्ने समेत जनाएको छ ।
आकर्षक लुकका साथै नयाँ फिचरका साथ राम्रो रेन्ज तथा हाइ स्पीड क्षमता भएको यो स्कुटरको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । कम्पनीले अटो एक्स्पोमा नै इलेक्ट्रीक स्कुटर एलएमएल स्टारको बुकिङ लिन भने सुरू गरेको थियो ।
कम्पनीका अनुसार एलएमएल इलेक्ट्रीक स्कुटर ३६० डिग्री क्यामरा भएको पहिलो स्कुटर रहेको छ । कम्पनीले एलएमल इलेक्ट्रीक स्कुटरको इटालीमा डिजाइन गराएको हो ।
यसमा ३.३ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ । यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसको टप स्पीड क्षमता भने ८५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीका अनुसार यसमा तीन राइड मोड उपलब्ध छ । फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, रिभर्स पार्किङ क्यामेरा, एबीएस, टायर प्रेसर मोनिटर जस्ता फिचर उपलब्ध रहेका छन् ।

