ईभी मात्रै विक्री गर्ने बीवाइडीको सर्भिसमा दोस्रो पाइला (भिडियोसहित)

काठमाडौं । बीवाइडीले सन् २०१७ को अन्त्यबाट विद्युतीय कार नेपाल ल्याएको थियो । सुरुमा बालुवाटारमा रहेको बीवाइडी पार्कबाट नै सेल्स र सर्भिसको सुविधा उपलब्ध गराउँदै आएको साइमेक्स इंकले भदौबाट आफ्नो पहिलो सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएको हो । यसलाई ईभी सर्भिसमा बीवाइडीको दोस्रो पाइला मान्न सकिन्छ ।

सन् २०२१ बाट बीवाइडी ‘अल न्यू इ६’ को विक्री सुरु भएसँगै बजारमा गाडीको संख्या थपियो । चिनियाँ ब्राण्डले आफ्नो उत्पादन विश्वबजारमा विक्री गर्ने रणनीति तयार गरेसँगै थप नयाँ मोडल नेपाल आउने भयो । नयाँ मोडल आउने भएसँगै नेपालको बजारमा पनि साइमेक्सले नयाँ बाटो समात्यो । त्यही कारण सन् २०२२ मा कम्पनीले देशभर ९ डिलर मार्फत सेल्स र सर्भिस सेवा संचालनमा ल्यायो ।

साइमेक्सले उपत्यकाको नक्सशालमा नयाँ शोरुम संचालनमा ल्यायो भने गौरीघाटमा सर्भिस सेन्टर बनायो । यसअघि स्पार्क अटो केयर संचालन हुँदै आएको स्थानमा बीवाइडीले ‘एक्सक्लुसीभ सर्भिस शोलुसन’ संचालनमा ल्याएको छ । कुल ६ रोपनी जग्गामा संचालन भइरहेको यो सर्भिस सेन्टरमा सबै किसिमका सेवा पाउन सकिन्छ ।

अहिले दैनिक ४/५ युनिट मात्रै गाडी सर्भिसिङको लागि आउने गरेका छन् ।

बीवाइडी गाडी चढिरहेका ग्राहकलाई एउटै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्नेगरी तयार भएको सर्भिस सेन्टरमा दुई फास्ट चार्जरसमेत उपलब्ध छ । उक्त सर्भिस सेन्टरबाट एकै पटकमा ५ देखि ८ वटासम्म गाडीले सर्भिसिङ पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, डेन्टपेन्टको सुविधा पनि यहाँ उपलब्ध हुनेछ ।

त्यसोत विद्युतीय गाडीलाई कम्बस्चनको जस्तो छिटो छिटो सर्भिसिङ सुविधा नचाहिने कारण बजारमा ठूलो भोलुममा गाडी उपलब्ध हुँदा पनि सर्भिसमा समस्या नहुने कम्पनीको भनाई छ ।

उक्त सर्भिस सेन्टरबाट दैनिक न्युनतम १५ देखि अधिकतम २५ युनिट गाडीलाई सेवा दिन सकिने कम्पनीका सर्भिस हेड शुसिल तण्डुकारले बताए । उनका अनुसार अहिले दैनिक ४/५ युनिट मात्रै गाडी सर्भिसिङको लागि आउने गरेका छन् ।

कम्पनीले पार्टस्को उचित ब्यवस्थापनलाई ध्यानमा राखी ठूलो परिणाममा आवश्यक पार्टस् स्टक राखेको जनाएको छ । देशका धेरै स्थानमा नयाँ शोरुम र सर्भिस सेन्टर खुलेका कारण सबै स्थानमा सेल्स, सर्भिस र स्पेयर पार्टस् उपलब्ध रहेको तण्डुकारले जानकारी दिए ।

‘उपत्यका बाहिर झापाको विर्तामोडदेखि विराटनगर, नारायणघाट, पोखरा, बुटवल, चितवन, धनगढी, दाङ लगायतका स्थानमा सर्भिस सेन्टर संचालनमा रहेका छन्’, सर्भिस हेड शुसिल तण्डुकारले भने ।

अहिले गाडीको लागि अत्यावश्यक मानिने ब्रेक प्याड, फिल्टर, वाइपर जस्ता सामान देशभरका सर्भिस सेन्टरमा उपलब्ध रहेको बताउँदै, तण्डुकारले भने, ‘ दुर्घटना भएर बडीका ठूला पार्टस् टुटफुट भएमा केही दिन भित्रै उपलब्ध गराउँछौ ।’

त्यसबाहेक, ग्राहकले गाडी लिएर सर्भिस सेन्टरसम्म आउन नसकेको अवस्थामा ‘पिक एण्ड ड्रप सर्भिस’को पनि सुविधा दिँदै आएको छ । यो सेवा काठमाडौँ उपत्यकाका लागि मात्र उपलब्ध छ । अब क्रमिक रुपमा काठमाडौं बाहिर पनि यो सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ‘अल टु अल सर्भिस’ समेत प्रदान गर्दै आएको छ । यसमा आवश्यक परेको अवस्थामा कम्पनीले ग्राहकको घर गएर वा यात्राका क्रममा बाटोमा गाडी बिग्रेको अवस्थामा त्यहि गएर नै सेवा दिने नभएर सर्भिस सेन्टर नै ल्याउनु पर्ने अवस्थामा टोइङ गरेर गाडी ल्याउने ब्यवस्था गरेको जनाएको छ ।

यसबाहेक ग्राहकलाई अत्यावश्यक परेको अवस्थामा र सर्भिस गर्न दिएको गाडी निर्माण अवधि लामो हुने भएमा कम्पनीले आवश्यक पर्नेलाई केही दिन अर्को कार दिने व्यवस्था गरेको जानकारी दिएको छ ।


Back_to_top