काठमाडौं । यामाहाले आफ्नो सर्वाधिक सफल मोडल ‘एफजेडएस-एफआई भर्सन फोर प्वइन्ट जिरो’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई बीएस ६ सेकेन्ड फेजमा आधारित इन्जिन दिएर ल्याएको हो ।
इन्जिनसँगै यसमा थुप्रै फिचरहरु अपग्रेड गरेर ल्याइएको छ । कम्पनीले भर्सन फोरमा नयाँ डिजाइनको एलइडी हेडल्याम्प, भर्टिकल एलइडी डिआरएल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर दिएको छ ।
ग्राहकले यसमा सिट कलर छनोट सुविधा पाउने छन् । ब्लुटुथ कनेक्टीभीटी सपोर्ट गर्ने डिजिटल क्लष्टर यसको अर्को बलियो पक्ष हो । यसमा फोनको ब्याट्री अवस्था, टर्न वाई टर्न इन्डिकेटर, कल अलर्ट, एसएमएस अलर्ट जस्ता सुविधा पाउन सकिन्छ ।
भारतीय बजारमा यो मोटरसाइल भी थ्रीको तुलनामा ३ हजार रुपैयाँले मूल्य बढेर विक्री सुरु भएको हो । यसको इन्जिन क्षमतामा भने कुनै परिवर्तन गरिएको छैन । यसमा रहेको १४९ सीसी क्षमताको इन्जिनले अधिकतम १२.४ पीएस पावर र १३.३ एनएम टर्क प्रदान गर्छ ।
यामाहाको एफजेडएस नेपालमा पनि निकै सफल मोडल मानिन्छ । अहिले पनि एमएडब्लू इन्टरप्राइजेजले एफजेडएस भी टु र भी ३ नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । यस्तोमा निकट भविष्यमा नै भी फोर पनि नेपाली बजारमा आउने सहजै अनुमान लगाउन सकिन्छ ।

