काठमाडौं । सस्तो कार उत्पादन गरेर भारतीय बजारमा बलियो पकड बनाएको मारुती सुजुकीले सन् २०३० सम्ममा ६ नयाँ विद्युतीय कार बजारमा ल्याउने यसअघि नै घोषणा गरेको थियो । कम्पनीले भारतमा ईभीको विक्रीमा विस्तारै वृद्धि भएको भन्दै अबको आफ्नो ध्यान सस्तो मूल्यमा ईभी ल्याउनु रहेको बताएको छ ।
मारुती सुजुकीका मार्केटिङ हेड शशांक श्रीवास्तवले भारतीय ईभी बजारको विषयमा आफ्नो धारणा राख्दै भनेका छन्, ‘अहिले पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा ईभीको मूल्य निकै महंगो छ । कम्बस्चनको १०० रुपैयाँ लागत हुँदा ईभीको १६० रुपैयाँ पर्छ । त्यसैले हाम्रो ध्यान कम्बस्चनको हाराहारी मूल्यमा ईभी ल्याउनेतर्फ केन्द्रित छ ।’
अहिले ईभीको बजार भारतमा १ प्रतिशत पुगेको र दुई बर्ष भित्र ३ प्रतिशत पुग्ने प्रक्षेपण गर्दै श्रीवास्तव भन्छन्, ‘सन् २०३० सम्ममा १७ प्रतिशत ईभीको हिस्सा पुग्ने छ । भारतमा वार्षिक ६० लाख कार विक्री हुने अनुमान गर्न सकिन्छ । त्यसमा १० लाख ईभी विक्री हुनेछ ।’
विस्तारै ईभीको प्रयोग बढ्ने र त्यसमा कम्पनीले नयाँ नयाँ मोडलको योजना निर्माण गरिरहेको उनको भनाई थियो । मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी २०२५ मा ल्याउने छ ।
नेपालमा भने ईभीको बजार तिव्र गतिमा बढिरहेको छ । नेपालमा विक्री हुने नयाँ कारमा ईभीको हिस्सा ५० प्रतिशतभन्दा माथि पुगिसकेको छ । त्यसको मुख्य कारण सरकारी नीतिलाई मान्न सकिन्छ ।


