२०२३ मोडल यात्री पी १ आउँदै, पुरानै मूल्यमा २०० किमी रेन्ज

काठमाडौं । नेपाली ब्राण्ड यात्रीले इलेक्ट्रीक मोटरसाइकल पी १ को २०२३ मोडल ल्याउने भएको छ । कम्पनीले २०२१ को अन्तिम तिर विक्रीमा ल्याएको मोटरसाइकल पी १ अपग्रेड गरेर बजारमा ल्याउने भएको हाे ।

यसको मुख्य अपग्रेड रेन्जमा हुन लागेको हो ।

यसअघि ११० किलोमिटर रेन्ज दिने पी-१ अपग्रेड भएर २०० किमि रेन्ज दिनेगरी आउने भएकाे छ ।

अहिले सडकमा १०० यूनिटभन्दा धेरै मोटरसाइकल चलिरहेको र ग्राहकको प्रतिक्रिया अनुसार मोटरसाइकल अपग्रेड गर्न लागेको कम्पनीले जनाएको छ । यात्री मोटरसाइकलका सीईओ वत्सल पाण्डेका अनुसार अबको केही ६ महिनापछि पी-१ अपग्रेड भएर आउने छ ।

‘अहिले सडकमा गुडिरहेको १००भन्दा धेरै ग्राहकबाट प्रतिक्रिया लिएर के कस्ता सुधारका काम गर्नु पर्छ भन्ने प्रतिक्रिया लिएका छौं । त्यस अनुसार सुधार गर्ने काम भइरहेको छ’, पाण्डेले भने ।

फिचर अपग्रेड र रेन्ज पनि बढेर आएपनि मूल्य भने पुरानै कायम गरेर विक्री गर्ने योजनामा आफुहरु रहेको पाण्डेको भनाई छ ।

यसको साथै, अबको ४ महिना भित्रमा नै कम्पनीले यात्री पी २ सार्वजनिक गर्ने तयारी भइरहेको छ । कम्पनीका अनुसार यात्री पी २ इलेक्ट्रीक स्कुटर हुनेछ ।


Back_to_top