प्राधिकरणले मुग्लिनसहित थप ४ ठाउँमा चार्जिङ स्टेशन बनाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका थप ४ ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने भएको छ ।

हाल देशका विभिन्न ५० ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिरहेको प्राधिकरण थप ४ ठाउँमा चार्जिङ स्टेशन बनाउन आइतबार टेन्डर आह्वान गरेको हो ।

प्राधिकरणले काठमाडौंको सामाखुसी र बल्खुमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने भएको हो । त्यस्तै, उपत्यका बाहिर चितवनको मुग्लिन र महोत्तरीको बर्दीबासमा चार्जिङ स्टेशन बनाउन टेन्डर आह्वान गरेको हो ।

इच्छुक कम्पनीले आजको १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । ठेक्का पाउने कम्पनीले नै चार्जिङ स्टेसन निर्माण, आपूर्ति र इक्युमेन्टको इस्टलेसन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेशन निर्माण पनि बढेको छ । हाल सरकार र निजी क्षेत्र दुवैले धमाधम चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् ।


Back_to_top