काठमाडौं । फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले सहरी क्षेत्रलाई ध्यानमा राखेर निर्माण गरेको इलेक्ट्रीक कार नेपाली बजारमा आएको छ ।
रेनोको लागि नेपालको आधिकारीक विक्रेता एड्भान्स अटोमोबाइल कम्पनीले नाडा अटो शोमा उक्त इलेक्ट्रीक कार जोइलाई शोकेस गर्न लागेको हो । यो कार कम्बस्चन इन्जिन युक्त कार जस्तै निकै आर्कषक, आरामदायी तर कम्बस्चन इन्जिनको तुलनामा धेरै किफायति रहेको छ ।
रेनो जोइ युरोपियन बजारमा सर्वाधिक बिक्री हुने कारमा पर्छ । यसले युरोपियन बजारमा निशान लिफसँग प्रतिस्पर्धा गरिरहेको छ । सन् २०१२ को जेनेभा मोटर शोमा पहिलो पटक शोकेस गरिएको यो कार २०१३ देखिनै कम्पनीले उत्पादनगर्दै आएको छ ।
रेनोले जोइलाई २ फरक ब्याट्री पावर अप्सनको साथ बजारमा ल्याएको छ । पहिलो कमरेन्जमा २२ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जसले एक पटकको फुलचार्जमा १०० माइल अर्थात् १६० किलोमिटर माइलेज दिनेछ भने, ४१ किलोवाटको ब्याट्री प्याकले १८० माइल अर्थात् २८८ किलोमिटर माइलेज दिनेछ ।
यस कारमा कम्पनीले तीन चार्जर अप्सन दिएको छ । जसमा क्यू ९०, आर ९० र फास्टर क्यू ९० थ्रिपिन चार्जर दिइएको छ । यसमा दिइएको फास्ट चार्जरबाट चार्जगर्दा ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
यसमा रहेका फिचरमा कि कार्ड इन्ट्री, पुस स्टाट बटम, ७ इन्च टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, टिएफटी ड्यास बोर्ड, क्रुजकन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक फ्रन्ट विन्डोजजस्ता फिचर रहेका छन् । यो कार यात्राको लागि निकै आरामदायी रहेको छ । कारमा सेन्सर युक्त क्लाइमेट कन्ट्रोल, एयर कन्डिसन, एन्टी लक ब्रेकिङ सिस्टम, एमरजेन्सी ब्रेक एसिस्ट, एयरब्यागलगायतका सुरक्षा मापदण्ड अपनाइएको छ ।
१६ इन्च अलोय ह्वील, क्रोम फ्रन्ट ग्रिल सराउन्ड, लेदर स्टेरिङ ह्वील, अटोमेटीक लाइट, रेन सेन्सिङ वाइपर, इलेक्ट्रीक रियर विन्डोज, अपग्रेडेड साउन्ड सिस्टम, रियर पार्किङ सेन्सर जस्ता फिचर दिइएको छ ।
नेपाली बजारमा अटो शोमार्फत सार्वजनिक हुन लागेको कारको मूल्य भने सार्वजनिक गरिएकाे छैन । यो कार बेलायती बजारमा १४ हजार पाउन्डदेखि २० हजार पाउन्डसम्ममा बिक्री वितरण भइरहेको छ ।
इलेक्ट्रीक सेग्मेन्टमा यसलाई स्टाइलिस कार मानिएको छ । यसले नेपाली बजारमा विशेष बजार बनाउने कम्पनीले विश्वास लिएको जनाएको छ । तर, यसले कस्तो बजार बनाउने छ त्यो भने अटो शोमा मानिसको चासो र आर्कषणले नै बताउने छ ।


