कार विक्रेताका आकर्षक अफर ११ लाखसम्म नगद छुट, विदेश भ्रमणको अवसर

काठमाडौं । चारपाँग्रे सवारीसाधन विक्रेता कम्पनीहरूले नेपाली नयाँ वर्ष २०८० को अवसरमा विभिन्न आकर्षक स्कीमहरू ल्याएका छन् ।

विभिन्न ब्रान्डका गाडी विक्रेताहरूले गाडी किन्न चाहने ग्राहकलाई लक्षित गरी आकर्षक योजनाहरू ल्याएका हुन् । नयाँ वर्ष २०८० सुरू हुनु अगावै ल्याएका ती योजनाहरू अझै कायम छन् भने केहीको वैशाख महिनाभर लागू हुनेछ ।

यस्ता छन् विभिन्न ब्राण्डले ल्याएका स्कीमहरू

ग्रेट वाल मोटर

ग्रेट वाल मोटर (जीडब्ल्यूएम) गाडीको नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्पेक्स प्रालिले नयाँ वर्षमा ‘हर्षमय नव वर्ष २०८०’नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले जीडब्ल्यूएमका सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख बराबरको फाइदा पाउने छन् ।

जसमा आकर्षक नगद छुट, स्पेशल सेलिब्रेशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू रहेका छन् । साथै, हरेक जीडब्ल्यूएम गाडीको खरिदमा ग्राहकले निःशुल्क एक्सेसोरिज, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन, एक्सचेन्जको बोनस र ३ वर्षको निःशुल्क सर्भिस सेवा पाउने छन् ।

निसान

निसान मोटर्सको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले नयाँ वर्षको अफरमा निसानको गाडी खरिद गर्ने ग्राहकहरूले ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने व्यवस्था गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको यो अफर योजनामा नगद छुट मात्र ८ लाख रुपैयाँ प्रदान गरिने जनाएको छ । कम्पनीले नयाँ वर्षको अफर भनेर अर्को नयाँ वर्ष बोनस भनेर २ लाख रुपैयाँको पनि छुट दिने जनाएको छ।

साथै, एक्सचेन्जमा पनि अफरहरू रहेको कम्पनीले जनाएको छ। कम्पनीले निसान गाडी खरिद गर्ने ग्राहकहरूलाई ३ वर्षसम्म सर्भिस र वारेन्टी दिएको छ। यसमा एक वर्षको रोड कर निःशुल्क प्रदान गर्नेछ भने बीमा पनि निःशुल्क गरिदिने अफर योजनामा उल्लेख भएको छ।

यसबाहेक, कम्पनीले सजिलो बैंकिङ र फाइनान्सिङको पनि सुविधा उपलब्ध गराउने जनाएको हो । यी सबै गरेर ग्राहकहरूले कुल ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन्।

फोटन टुनल्याण्ड

एमएडब्ल्यू वृद्धि कमर्शियल भेहिकल आधिकारिक वितरक रहेको फोटन ब्रान्डको टुनल्याण्ड पिकअपमा नयाँ वर्ष २०८० को आकर्षक अफर सार्वजनिक भएको छ।

‘फ्युल योर एम्बिसन ओन योर टुनल्याण्ड’ नामक यो अफर अन्तर्गत ग्राहकहरूले जम्मा ९।९९ प्रतिशतको ब्याज दर तथा न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप खरिद गर्ने अवसर रहेको छ। अफरमा ग्राहकहरूका लागि एक्सचेन्ज सुविदा समेत रहेको छ।

यस अफरको फाइदा लिन ग्राहकहरूले एमएडब्ल्यू वृद्धिको कुनै पनि शोरुममा गएर ग्राहक प्रतिनिधि प्रतिनिधिसँग कुरा गर्न सक्ने कम्पनीले जनाएको छ ।

टाटा

टाटा ब्रान्डका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले आफ्नो सम्पूर्ण प्यासेन्जर गाडीहरूमा नयाँ वर्षको लागि आकर्षक अफरहरू सार्वजनिक गरेको छ।

कम्पनीले ‘हर्षले भरिएको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत प्रत्येक गाडीमा आकर्षक छुटसँगै एक्सचेञ्ज बोनस, एक्सचेञ्जमा उच्च मूल्याकंन गर्ने जनाएको छ ।

कम्पनीले यो अफरमा फ्री जेन्यूइन एसोसरिज समेत प्रदान गर्ने बताएको छ । यसमा नया गाडीको खरिदमा फ्री रोड ट्याक्स, प्रत्येक टेस्ट ड्राइभ र मूल्याकंनमा आकर्षक उपहारको साथमा ३ वर्षको वारेन्टी पनि प्रदान गरेको छ ।

यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म नेपाल अधिराज्यभर लागू हुने कम्पनीले बताएको छ ।

हुन्डाई

हुन्डाई नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्षमा ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ नामक अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत कम्पनीले ५ लाख रुपैयाँसम्मको नगद छुट, ८० हजार रुपैयाँसम्मको नयाँ वर्षको बोनस दिने भएको छ ।

यससँगै, कम्पनीले ८० हजार रुपैयाँसम्मको एक्चेन्ज बोनस, २ लाख रुपैयाँसम्मको मोडल इयर डिस्काउन्टको व्यवस्था गरेको छ ।

यो योजनामा कम्पनीले १ वर्षसम्मका लागि निःशुल्क इन्स्योरेन्स र रोड ट्याक्ससँगै स्पट भ्यलुएसन तथा एक्सचेन्ज पनि गर्ने जनाएको छ ।

सुजुकी

सिजी मोटोकर्पले सुजुकीको गाडीहरूमा नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘ह्यापी न्यू कार’ अफर अन्तर्गत ग्राहकले सुजुकीका कुनै पनि गाडीको खरिदमा २ लाख ५० हजार छुट पाउन सक्नेछन् ।

यससंगै, कम्पनीले १ वर्षसम्मका लागि निःशुल्क इन्स्योरेन्सको सुविधा दिएको छ ।

यो योजना अन्तर्गत कम्पनीका ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । यो अफर वैशाख १ गतेबाट लागू भएको हो भने मोडल अनुसार डिस्काउन्ट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

चांगन

चांगन अटो नेपालले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ साल, साह्रै बब्बाल अफर’ सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम सेडान एल्सभिन र प्रिमियम पिकअप हन्टर लिन चाहने ग्राहकलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको हो ।

यो अफर वैशाख १ गतेदेखि ३१ गतेसम्म लागू हुने कम्पनीले बताएको छ । यो अफरमा ग्राहकले चांगनको कुनै पनि सवारी साधनको खरिद गर्दा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा आइफोन १४, आइवाच र एयरपड जित्न सक्नेछन् ।

यसका साथै कम्पनीले ५० हजार रुपैयाँसम्मको फेस्टिवल बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्म अधिक छुट लिनसक्ने बताएको छ।

कम्पनीले अफरमा एक्सचेन्जको सुविधा पनि दिएको छ । यसमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्राण्डको सवारी साट्न सक्नेछन् भने थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

यो स्कीममा चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिन को लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ।


Back_to_top