काठमाडौं । जापानी अटोमोवाइल ब्राण्ड टोयोटाले चीनमा जारी ‘संघाई अटो शो २०२३’मा दुईवटा इलेक्ट्रीक कारको कन्सेप्ट मोडल प्रदर्शनी गरेको छ । कम्पनीले आफ्नो बिजेड सिरिजमा नै सपोर्ट क्रसओभर र बिजेड फ्लेक्सस्पेस गरी दुई कन्सेप्ट कार देखाएको हो ।
चिनियाँ ब्राण्ड बीवाइडी र जापानी कम्पनी टोयोटा मिलेर स्थापना गरेको नयाँ संयुक्त लगानीको कम्पनीले बिजेड स्पोर्ट मोडल तयार गरेको हो । चिनियाँ निर्माता बीवाइडीले बिजेड सिरिजको लागि डेडिकेटेड ब्याट्रीसमेत तयार पारेको जनाएको छ ।
विजेड स्पोर्ट कन्सेप्ट मोडललाई ’रिबुट’ पनि भनिएको छ । यसमा ड्राइभर असिस्टेन्ट, अटोमेटिक पार्किङ लगायत फिचर्स पाउन सकिन्छ ।
त्यसैगरी, अर्को कन्सेप्ट मोडल बिजेड फ्लेक्सस्पेस भने फेमेली अरिएन्टेड एसयूभी हो । यो ईभीलाई टोयोटा र ग्वान्झाउ अटोमोबाइल ग्रुप कम्पनी लिमिटेडले संयुक्त रुपमा तयार गरेका हुन् ।
यो ईभीको कन्सेप्ट मोडलको नाम भने ’कोजी होम’ दिइएको छ । यसले पारिवारीक माहोललाई बुझाउँछ । यसमा फराकिलो क्याबिन स्पेससँगै विभिन्न इन्टेलिजेन्ट फङ्सन्स, एड्भान्स सेफ्टी फिचर्स लगायत पाउन सकिन्छ ।
टोयोटाले यी दुबै ईभी चिनियाँ बजारमा आगामी वर्षसम्ममा विक्री सुरु गर्ने बताइएको छ । टोयोटाले चीनमा विक्री सुरु गरेको बीजेड थ्री मोडलले सुरुवातमा नै निकै राम्रो बुकिङ पाएको छ । बीवाइडीसँग मिलेर तयार पारेको बिजेड थ्री एक प्रिमियम सेडान कार हो ।
सन् २०३० सम्ममा कुल विक्रीको ३५ प्रतिशत ईभी विक्री गर्ने योजना सहित टोयोटाले नयाँ नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ । त्यसको लागि अवश्यकता अनुसार विभिन्न देशका कम्पनीहरुसँग संयुक्त लगानीमा काम अगाडि बढाइरहेको छ ।


