काठमाडौं । बजारमा करिब ४ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन विक्री वितरण भइरहेको छ । अझै धेरै नयाँ ब्राण्डका मोटरसाइकल र स्कुटर आउने क्रम जारी छ ।
लगातार नयाँ ब्राण्डका विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन नेपाल आएपनि विक्री भने निरासजनक देखिन्छ ।
चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि ६ हजार २ सय यूनिट हारहारीमा मात्रै विद्युतीय स्कुटर र मोटरसाइकल आयात भएको देखिन्छ ।
दुई पाङ्ग्रे इलेक्ट्रीक सवारीसाधन चिनियाँ र भारतीय बजारबाट आयात हुँदै आएको छ । यसका अलावा इन्डोनेशिया लगायतका देशबाट पनि आयात हुँदै आएको छ ।
मूख्यतया चीन र भारतबाट धेरै ब्राण्डका विद्युतीय साधन नेपाल आउने गरेको भएपनि भारतीय उत्पादनलाई धेरैले रुचाएका छैनन् ।
चालु आवको ९ महिनामा कुल ६ हजार २६३ यूनिट विद्युतीय स्कुटर तथा मोटरसाइकल आयात भएकोमा भारतबाट १ हजार ४१९ यूनिट मात्र आयात भएको देखिन्छ । त्यस्तै हङकङबाट २ यूनिट तथा इन्डोनेशियाबाट ७२ यूनिट आयात भएको देखिन्छ । बाँकी ४ हजार ७७० यूनिट चीनबाट आयात भएको देखिन्छ ।
बिशेषगरी भारतीय उत्पादनमा विभिन्न समयमा देखिएको समस्याका कारण नेपाली ग्राहकले त्यहाँका उत्पादनलाई विश्वास नगरे जस्तो देखिन्छ । नेपालमा ओकिनवा, हिरो, प्योर ईभी, कोमाकी, रेमोटो, राफ्टा, इभिट्रीक जस्ता दर्जनौ चर्चित ब्राण्डका भारतीय स्कुटर आयात हुँदै आएका छन् ।
चिनियाँ स्कुटरमा नेपाली बजामा सेगवे, याडिया, जम्वो, टेल्जी, लुयान, एनआइयू, लेभनिङ, जिहो, हर्विन, मिकु लगायतका ब्रान्डका स्कुटर तथा मोटरसाइकल किन्न पाइन्छ ।

