ईभी चार्ज गर्न एसी र डीसी फास्ट चार्जर कस्तो अबस्थामा प्रयोग गर्ने ?

काठमाडौं । नेपाली सडकमा ६ हजार ५ सय हाराहारी चार पाङ्ग्रे विद्युतीय गाडी गुड्न थालेसँगै यससँग सम्बन्धीत धेरै विषयमा अहिले चर्चा हुने गरेको छ । विद्युतीय कारको मुटु भनेको ब्याट्री, मोटर र  ब्याट्री मेनेजमेन्ट सिस्टम हो ।

नेपालमा आफ्नै विद्युत उत्पादन बढ्न थालेको र पेट्रोलियम पदार्थमा शतप्रतिशत परनिर्भरता रहेको कारण ईभीको प्रयोग आम उपभोक्ताबाटै स्वतस्फुर्त बढ्दै गएको हो । संचालन र सर्भिसिङ खर्च कम भएकै कारण यसप्रति मानिसको चासो अझ बढ्दै गएको छ ।

अहिलेसम्म ईभीको प्रयोग सहरमा आफ्नै घर हुने र घरमा पनि ग्यारेज भएको मानिसले मात्रै गर्दै आएका थिए । घरमा पहिल्यै एउटा गाडी हुनेको रोजाईबाट सुरु भएको ईभीको यात्रा अहिले पहिलो गाडी किन्नेले पनि निर्धक्क किन्न सक्ने अवस्था आएको छ ।

निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणले फास्ट चार्जिङ नेटवर्क निर्माणलाई तिब्रता दिएसँगै त्यस्ता चार्जिङ सेन्टरमा लगेर ईभी चार्ज गर्न थालेको पाइन्छ । अहिले प्राधिकरणले निर्माण गरेको रत्नपार्क र नेपाल पुलिस क्लव भित्रको चार्जिङ सेन्टरमा ईभी चार्ज गर्नेको लाइन लाग्ने गरेको छ ।

थोरै समयमा धेरै चार्ज हुने भएको कारण ईभी प्रयोगकर्ताले डिसी फास्ट चार्जर प्रयोग गरिरहेका छन् । यस्तोमा निरन्तर डिसी फास्ट चार्जरले ईभीलाई चार्ज गर्न हुन्छ वा हुँदैन । एसी चार्जरको प्रयोग गर्नै पर्ने हुन्छ कि हुन्न भन्ने विषयमा हामीले केही जानकारी दिने प्रयास गरेका छौं ।

एसी (अल्टरनेटीङ करेन्ट) चार्जर

विद्युतीय सवारीसाधनको ब्याट्रीमा जहिलेपनि पावर ‘डीसी’को रुपमा स्टोर हुनेगर्छ । यदि तपाई आफ्नो एसी चार्जरको प्रयोगबाट गाडी चार्ज गर्नु हुन्छ भने त्यसैलाई अनबोर्ड चार्जिंगको सहयोगमा कन्भर्टर द्धारा डीसीमा परिवर्तन गरेर ब्याट्रीमा स्टोर गरिन्छ ।

डीसी (डाइरेक्ट करेन्ट) चार्जर

डाइरेक्ट करेन्ट (डीसी) चार्जरमा इनब्यूल्ट कन्भर्टर दिएको हुन्छ । यसले सिधै ब्याट्रीमा डीसी पावर पुर्याउँछ । साथै, सजिलै स्टोर पनि हुन्छ । यहि कारण डीसी चार्जरको प्रयोग गर्दा छिट्टै चार्ज हुने गर्छ ।

डीसी चार्जरको प्रयोग गर्दा ब्याट्रीमा चार्ज सप्लाई सिधै हुने हुँदा भित्र हुने अनबोर्ड चार्जरको जरुरत पर्दैन । त्यसैले डीसी चार्जरको प्रक्रिया नै फरक हुन्छ ।

एसी वा डीसीमा कुन चार्जर प्रयोग ठिक ?

एउटा भनाइ नै छ, जुनसुकै चिजमा फाइदासँगै नोक्सान पनि जोडिएर आउने गर्छ । यो विषय डीसी चार्जरमा पनि लागु भएको देखिन्छ ।

यदि तपाई पनि आफ्नो विद्युतीय कार कहिले काहिँ मात्रै डीसी चार्जरबाट चार्ज गर्नु हुन्छ वा हतारको समयमा मात्रै आकालझुक्कल फास्ट चार्जरको प्रयोग गर्नुहुन्छ त्यो ठिकै मान्नु पर्छ । तर, लगातार डीसी चार्जरको प्रयोग गरिरहनु हुन्छ भने तपाईँहरुको लागि यो गलत साबित हुन सक्छ ।

रेगुलर फास्ट चार्जरबाट चार्जगर्दा सवारीसाधनको ब्याट्रीमा असर पर्ने सम्भावना धेरै हुन्छ । त्यसले ब्याट्रीमा छिट्टै समस्या निम्त्याउने र ब्याट्रीको आयुसमेत कम हुनसक्छ ।

ब्याट्री एक्सपर्टहरुको सल्लाह अनुसार, आफ्नो इलेक्ट्रीक साधनलाई कम्पनीले दिएकै एसी चार्जरबाट चार्ज गर्नु धेरै उचित हुन्छ । लगातार डीसी फास्ट चार्जरको प्रयोग गर्नु ईभीमा लाभदायक मानिदैन ।

एसी चार्जरबाट फुलचार्ज हुन धेरै समय लाग्छ । तर, त्यो समयसँग आत्तियर डीसी चार्जरमा मात्रै चार्ज गर्नु भयो भने तपाईको कमाई चाँडै ब्याट्री किन्न खर्च गर्नु पर्ने अवस्था आउन सक्छ ।

 


Back_to_top