पुराना गाडीमा लिथियम ब्याट्री जडान गरिदै, यस्तो छ खर्च

सांकेतिक तस्बिर

काठमाडौं ।इभर्ट न्यू इनर्जी प्रालिले पुराना लिड एसिड ब्याट्री प्रयोग भएका विद्युतीय गाडीलाई लिथियम आयोन ब्याट्रीले रिप्लेस गर्ने सेवा दिइरहेको छ । कम्पनीले पुराना ईभीलाई मात्रै होइन, पेट्रोल कार वा मोटरसाइकललाई पनि उक्त सेवा दिइरहेको जनाएको छ ।

कम्पनीले यसअघि करिब ६ यूनिटभन्दा धेरै पेट्रोल कारलाई ईभीमा सफलता पूर्वक परिमार्जन गरिसकेको जनाएको छ । तर, नीतिगत ब्यवस्था प्रस्ट नहुँदा सवारीसाधन दर्ता गर्न नमिलेको कारण ब्यक्तिको कम्बस्चन इन्जिन भएका गाडी ईभीमा रुपान्तरण तिब्र गतिमा नगरिएको कम्पनीको भनाइ छ ।

‘हामी सबै प्रकारका सेवा दिन सक्षम छौं । हामीले गुणस्तरिय परिमार्जन यसअघि नै गरेका थियौं । सरकारले यसरी परिवर्तन भएका साधन विद्युतीय भनेर दर्ता हुने बाटो खोलेको छैन । त्यसले ब्यक्तिको साधन परिमार्जन गर्न सकिएको छैन’, इभर्ट न्यू इनर्जी कम्पनीका टेक्नीकल हेड कमलेश कुमारले मेरोअटोसँग भने ।

अहिले कम्पनीले पुराना सन् २०१० ताका नेपाल आएका रेभा कारमा रहेको लिड एसिड ब्याट्रीलाई हटाएर लिथियम ब्याट्री जडान गर्ने काम गरिरहेको कुमारले बताए ।

कम्पनीका अनुसार पुरानो रेभा कारमा रहेको लिड एसिड ब्याट्री हटाएर लिथियम ब्याट्रीको प्रयोग गर्दा ३ लाखदेखि ५ लाखसम्म खर्च आउने छ । कम्पनीले ब्याट्रीसँगै ब्याट्री मेनेजमेन्ट सिस्टम, चार्जर, विभिन्न टुल्सहरु निःशुल्क दिने भएको कारण मूल्य केही बढी पर्न गएको हो ।

रेभामा ५ देखि १० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसरी फेरिएको ब्याट्रीको आयु न्यूनतम ६ देखि ८ वर्षसम्मको हुनेछ ।

यसलाई सून्यबाट १०० प्रतिशत चार्ज गर्न ५ देखि ६ घन्टा लाग्नेछ । कम्पनीले प्रयोग गर्ने ब्याट्री विश्वकै ठूलो लिथियम आयोन ब्याट्री उत्पादक सिएटीएलको हो ।

यदि, सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कार अथवा मोटरसाइकललाई ईभीको रुपमा दर्ता गर्ने बाटो खुल्ला गर्ने हो भने कम्पनीले पुराना साधनलाई ईभीमा सहजै रुपान्तरण गरिदिने जनाएको छ ।


Back_to_top