काठमाडौं । भारतमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको बिक्रीमा उच्च गिरावाट आएको छ । यसलाई धेरैले ‘मार्केट क्रयास’को संज्ञा दिइएको छ ।
जुन २०२३ मा इलेक्ट्रीक दुईपाङ्ग्रे साधनको बिक्रीमा ६० प्रतिशतले गिरावट आएको हो । भारतमा सरकार दिँदै आएको ‘फेम २’ अनुदान हटाए पश्चात् इलेक्ट्रीक दुईपाङ्ग्रे साधनको बिक्री ६० प्रतिशतसम्मले घटेको देखियो ।
यसअघि भारतमा मासिक १ लाख ५० हजार यूनिटसम्म बिक्री हुँदै आएको इलेक्ट्रीक स्कुटरको बजार हिस्सा घटेर जुन २०२३ को २६ तारिखसम्ममा ३५ हजार ४६४ यूनिट मात्र बिक्री भएको हो ।
सरकारले दिदै आएको अनुदान सरकारले हटाएपछि मासिक ४० देखि ४५ हजार हाराहारीमा मात्र इलेक्ट्रीक दुई पाङ्ग्रे साधन बिक्री हुने देखाएको छ ।
सरकारले ‘फेम २’ अनुदान हटाएका कारण इलेक्ट्रीक स्कुटरको मूल्यमा १५ देखि ३५ हजार रुपैयाँसम्मले वृद्धि हुने भएका छन् । २०२३ मे महिनामा १ लाख ५० हजार यूनिट दुई पाङ्ग्रे ईभी बिक्री भएका थिए ।
जुन २०२३ मा सबैभन्दा धेरै स्कुटर विक्री गर्ने कम्पनी ओलाले १४ हजार ७३ यूनिट बिक्री गरेको छ । कम्पनीले मे महिनामा २८ हजार ६१७ यूनिट स्कुटर बिक्री गरेको थियो । त्यस्तै, टीभीएस आइक्यूवको बिक्री २० हजार ३९६ यूनिटबाट घटेर ५ हजार २५३ यूनिट र बजाज चेतकको बिक्री १० हजार ६३ यूनिटबाट घटेर २ हजार १०० यूनिटमा झरेको छ ।
भारतमा बिक्री घटेसँगै नेपालमा थप नयाँ ब्राण्डका स्कुटर भित्रने चर्चा सुरु भएको छ । नेपालमा करिब दुई दर्जन ब्राण्डले विद्युतीय दुई पाङ्ग्रे साधन बिक्री गर्दै आएका छन् । तर, अधिकांश ब्राण्डले मार्जिन धेरै राख्ने, सर्भिसको सुविधा नदिने र आफ्ना उत्पादनको विषयमा सहि जानकारीसमेत नदिने गरेको पाइन्छ ।
भारतमा उत्पादन भएर हालसम्म नेपाल नआएका एथर, सिम्पलवान, एम्पियर, चेकत जस्ता स्कुटर अब नेपाल आउन सक्नेछन् । अहिलेसम्म भारतमा नै माग धेरै भएका कारण यी स्कुटरहरु नेपाल आएका थिएनन् ।


