कार र मोटरसाइकलको वार्षिक करमा ९ हजारसम्मले वृद्धि

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मोटरसाइकल र कारमा लगाउँदै आएको वार्षिक करमा व्यापक वृद्धि गरेको छ । लुम्बिनी प्रदेश सरकारले जारी गरेको आर्थिक ऐन २०८० ले ९ हजार रुपैयाँसम्मले वार्षिक कर वृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश सरकारले २९०० सीसी माथिका सबै गाडीमा ५६ हजार रुपैयाँ वार्षिक कर निर्धारण गरेकोमा नयाँ आर्थिक ऐन २०८० ले ३५०० सीसी माथिका जीप/कार/भ्यानमा ६५ हजार रुपैयाँ कर लगाइएको छ । यसले एकै पटक ३५०० सीसी माथिका कार राख्नेले ९ हजार रुपैयाँ बढी तिर्नु पर्ने भएको हो ।

मोटरसाइकलमा पनि ५ हजार रुपैयाँसम्मले वार्षिक कर वृद्धि भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक ऐन २०७९ मा ४०० सीसी माथिका मोटरसाइकलमा एकमुष्ठ २५ हजार रुपैयाँ कर लगाएकोमा त्यसलाई टुक्राएर ६५० सीसी माथिका मोटरसाइकलमा ३० हजार रुपैयाँ कर बनाइएको छ ।

सबैभन्दा धेरै मानिसले चढ्ने १६० सीसी सेग्मेन्टका मोटरसाइकलमा एकै पटक २ हजार रुपैयाँ वृद्धि गरिएको छ । अघिल्लो वर्ष १२५ देखि १६० सीसीसम्मका मोटरसाइकलमा वार्षिक ४५०० कर लाग्दै आएकोमा नयाँ आर्थिक ऐनले १५० माथिको मोटरसाइकलमा ६ हजार ५०० रुपैयाँ कर बनाएको छ । थोरै बढी सीसी भएका मोटरसाइकलले २ हजार बढी तिर्नु पर्ने भएको हो ।

कति सीसीका मोटरसाइकललाई कति कर ?

लुम्बिनी सरकारले ल्याएको आर्थिक ऐन २०८० ले १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरले वार्षिक ३ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यसमा ४०० रुपैयाँ वृद्धि गरिएको हो ।

त्यस्तै, १२५ देखि १५० सीसीका मोटरसाइकलमा ५ हजार वार्षिक कर लाग्ने बनाइएको छ । यसमा ५०० रुपैयाँ वृद्धि गरिएको हो ।

१५० सीसी माथि २२५ सीसी क्षमताका मोटरसाइकलमा ६ हजार ५०० रुपैयाँ बनाइएको छ । यसअघि यो सेग्मेन्टमा ५ हजार ५०० रुपैयाँ कर लाग्दै आएको थियो ।

त्यसैगरी, २२५ सीसी माथि ४०० सीसीसम्मका मोटरसाइकलमा ११ हजार बनाइएको छ । यसमा यसअघि पनि ११ हजार नै थियो । साथै, ४०० सीसीमाथि ६५० सीसीसम्मका मोटरसाइकलमा २० हजार कर लगाइएको छ । यसअघि यो सेग्मेन्टमा २५ हजार रुपैयाँ वार्षिक कर थियो ।

नयाँ थपिएको ६५० सीसी माथिको सेग्मेन्टका मोटरसायकल चढ्ने मानिसले अब ३० हजार भएको छ । यस्ता मोटरसाइकल चढ्नेले यसअघि २५ हजार तिर्दा पुग्थ्यो ।

सीसी अनुसार कारमा कर

प्रदेश सरकारले ल्याएको नयाँ आर्थिक ऐन २०८० ले एक हजार सीसीसम्मका मोटरसाइकलमा वार्षिक कर २२ हजार बनाइएको छ । यसमा २ हजार कर वृद्धि गरिएको हो ।

नयाँ ब्यवस्था अनुसार १००० सीसीमाथि १५०० सीसीसम्मका निजी कारमा २५ हजार वार्षिक कर लाग्ने भएको छ । यो सेग्मेन्टमा सरकारले ३ हजार वार्षिक कर वृद्धि गरेको हो ।

१५०० सीसीमाथि २००० सीसीसम्मका कारमा २ हजारले कर वृद्धि गरेर २७ हजार रुपैयाँ बनाइएको छ । साथै, २००० सीसीमाथि २५०० सीसीसम्मका कारमा ३७ हजार वार्षिक कर बनाइएको छ । यसमा ३ हजार वृद्धि गरिएको हो ।

त्यसैगरी, २५०० सीसीमाथि ३००० सीसीसम्मका गाडीमा ५० हजार रुपैयाँ बनाइएको छ । साथै ३००० सीसी माथिका र ३५०० सीसीसम्मका साधन ६० हजार र ३५०० सीसी माथिका गाडीमा ६५ हजार रुपैयाँ बनाइएको छ ।

यसअघि २९०० सीसी माथिका सबै गाडीमा ५६ हजार वार्षिक कर लाग्दै आएको थियो ।


Back_to_top