टेस्ट ड्राइभ रिभ्यू : पावर, फिचर र डिजाइनको बेजोड मिश्रण ‘टुसान’

काठमाडौं । हुन्डाई मोटर्सलाई प्रिमियम सेग्मेन्टमा पनि छ भनेर चिनाउने टुसान आफ्नो बडी डिजाइन र लुक्स परिवर्तनसँगै आफ्नो अस्तित्व खोजी गर्दैछ । सन् २००४ देखि नेपाली बजारमा उपलब्ध टुसानलाई धेरैले टक्सन भनेर चिन्छन् ।

टोयोटा, निसान र मित्शुबिसीका एसयूभीहरू महंगो मूल्य तिरेर किन्नु पर्ने समयमा नेपाल आएको टुसानले सबैको मन जित्यो । त्यतिबेला भारतमा उत्पादन भएको सेन्ट्रो र कोरियामा बनेको टुसानले दुई किसिमका ग्राहकलाई आफूतिर आकर्षित गरेको थियो ।

कम बजेटमा सानो पारिवारिक कार खोज्नेले सेन्ट्रो किने भने कम मूल्यमा ठूलो एसयूभी चाहिनेको रोजाइमा टुसान परेको थियो । अहिले समय फेरियो । विगत २० वर्षमा हुन्डाईले अलग पहिचान बनायो । कुनै समयको सस्तो एसयूभीसँग अहिले बजारमा त्यही मूल्यका धेरै प्रतिस्पर्धी थपिए । ठ्याक्कै भन्नुपर्दा टुसानले अनुहार, डिजाइन र फिचरमा नयाँ फड्को मार्यो । त्यसैले यसको मूल्य पनि प्रिमियम भयो ।

अब अहिले बिक्री भइरहेको टुसानको केही कुरा गरौं । सन् २०२१ मा कोरियाली बजारबाट पहिलो पटक सार्वजनिक हुँदा ‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइन भनेर विश्वभर यसको चर्चा भयो । धेरैले यसको बनोटलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएका थिए । यसलाई लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सन् २०२२ मा नेपाल ल्याएको थियो ।

टेस्ट ड्राइभ अनुभव

नेपालमा कम मूल्यको एसयूभीबाट यात्रा थालेको टुसान पक्कै ड्राइभिङको लागि उत्कृष्ट होला भन्ने अनुमान यसअघि लगाइएकै थियो । त्यसैले यसलाई धेरै लामो यात्रामा लिएर जानेभन्दा पनि थोरै तर, सबै किसिमका बाटामा चलाउने हाम्रो इच्छा थियो ।

उपत्यका आसपास उकालो, ओरोलो, घुम्ती, कच्ची, समथर र सिधा सबै किसिमको बाटोमा जाने योजना अनुसार हामीले टुसान मगाएका थियौं । यी सबै किसिमका बाटोमा जान बानेश्वर, कोटेश्वर, सूर्यविनायक, घ्याम्पेडाँडा हुँदै मानेदोभान जाने बाटो छनोट गरियो । घ्याम्पे डाँडादेखि मानेदोभानसम्मको बाटो कच्ची भएको कारण छनोट गरेका थियौं ।

यो यात्रा एकतर्फी करिब ३० किलोमिटरको थियो । तर, रानीकोटदेखि मानेदोभान जाने बाटो बन्द रहेको कारण हामी रानीकोटबाट फर्कियौं । यसका बाबजुद हामीले उक्लदा २ किमी र फर्कदा पनि २ किमी अफरोडमा यसलाई चलाउने मौका पायौं ।

अफरोडमा पनि गज्जब 

घुम्ती बाटो त्यसमा पनि पानीले बनाएका ठूलठूला कुलेसा कति ठाँउमा गाडी छुन्छ भन्ने लाग्यो तर, छोएन । पछि हेर्दा पहिलेको टुसानभन्दा १० एमएम मात्रै ग्राउन्ड क्लियरेन्स नयाँ टुसानमा कम रहेछ । झट्ट हेर्दा भने पहिलाभन्दा निकै कम ग्राउन्ड क्लियरेन्स छ कि जस्तो लाग्छ ।

अर्को यसको टर्निङ रेडिस गज्जब छ । गाडी र ह्वीलवेस दुवै लामो भएको कारण १०.९ मिटर टर्निङ रेडिस चाहिन्छ । यति लामो भएर पनि यसको ह्याण्डलिङ उत्कृष्ट छ ।

भित्री बनोट

फराकिलो क्याबिन, ठूलो पानारोमिक शनरुफ, सफा ड्यासबोर्ड, ड्यासबोर्डमा प्रयोग भएको सफ्टटच मेटिरियल, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टम, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, इन्फोटेन्टमेन्ट सिस्टम, आरामदायी सीट पाउन सकिन्छ ।

त्यसैगरी, वायरलेस चार्जर, एयर प्युरिफायर, ६४ कलरको एम्बियन्ट लाइट, ३६० डिग्री क्यामेरा, ड्राइभर सिट मेमोरी, रियर एसी भेन्ट, स्मार्ट फोनबाट चलाउन सकिने डिजिटल कि, हुन्डाई ब्ल्यूलिंक कनेक्टीभीटी, बोसको साउन्ड सिस्टम जस्ता फिचरले चालक र यात्रुलाई फरक फिल गराउँछ ।

बाहिरी बनोट

हुन्डाई टुसानमा पहिलो पटक प्रयोग भएको प्यारामेट्रीक ग्रिल र हाफ मिरर युक्त हिडन लाइटले बाटोमा गुड्दा अन्य गाडीभन्दा फरक देखिन्छ । यसमा प्रयोग गरिएको प्यारामेट्रीक हिडन लाइट, लामो ह्वीलबेस, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले ग्राहकको आवश्यकता पूरा गर्न सक्छ ।

समग्रमा टुसान एउटा ‘कमप्लिट प्याकेज’ हो । तर, यसमा एडास फिचर छैन । यसको महत्व कति छ भन्ने विषय अहिले धेरै शोरुममा छलफल हुने गरेको छ । टुसानमा दिइएको २.० लिटर पेट्रोल इन्जिनले १५६ हर्सपावर र १९२ एनएम टर्क प्रदान गर्छ ।

त्यस्तै, टुसानमा दिएको २.० लिटर डिजल इन्जिनले १८६ एचपी पावर तथा ४१७ एनएम टर्क उत्पादन गर्छ । दुवै एसयूभी अटोमेटिक तथा म्यानुअल गियरबक्समा किन्न पाइन्छ । पावरको हिसावले दुवै इन्जिन राम्रो छ ।

अन्त्यमा, फिचर, डिजाइन, आरामदायी र प्रिमियम भएसँगै टुसानको मूल्य १ करोड ७ लाख ९६ हजारबाट सुरू हुन्छ । यसको टप स्पेकको मूल्य १ करोड ६२ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यो सेग्मेन्टमा उपलब्ध सम्पूर्ण गाडीको बिक्री खुम्चने क्रममा छ । त्यसैले त भनेको टुसान आफ्नो अस्तित्व जोगाउने लडाइँमा छ ।


Back_to_top