स्कर्पियोको उत्पादन ९ लाख नाग्यो, ‘स्कर्पियो एन’ नेपाल आउँदै

काठमाडौं । महिन्द्राको सबैभन्दा सफल एसयूभी स्कर्पियोको उत्पादन ९ लाख यूनिट पुरा भएको छ । कम्पनीले नयाँ स्कर्पियो एनको उत्पादन सुरु भएको पहिलो वर्ष पुरा गरेकै दिन ९ लाख यूनिट उत्पादन पुरा भएको जानकारी दिएको हो ।

महिन्द्राले स्कर्पियोको ९ लाख यूनिट पुरा भएको खुसियालीमा विषेश कार्यक्रम आयोजना गरेको हो । स्कर्पियो बीस वर्षअघि सन् २००२ बाट उत्पादन सुरु भएको थियो । झण्डै २० वर्षसम्म निरन्तर ग्राहकको मन जित्न सफल मोडल अहिले क्लासिक र एन गरी दुई फरक डिजाइनमा उत्पादन भइरहेको छ ।

महिन्द्राको सर्वाधिक सफल मोडल स्कर्पियो एन र स्कर्पियो क्लासिक भारतमा अझै बुकिङ गरेर बस्ने ग्राहकको ठूलो संख्या रहेको छ । अझै कम्पनीको आगामी १३ महिनाको उत्पादन अहिले नै बुकिङ रहेको छ । महिन्द्राले १ लाख १७ हजार यूनिट स्कर्पियो डेलिभरी दिनै बाँकी रहेको छ ।

सन् २०२२ मा स्कर्पियोको बिक्री ७६ हजार ९३५ यूनिट भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ९९ प्रतिशतले धेरै हो । नयाँ स्कर्पियो एनमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटोसहितको ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, इनकार कनेक्टेड टेक, सोनीको १२ वटा स्पिकर, ठूलो साइजको एमआईडी, एड्जस्टेवल हेडरेस्ट, क्रुज कन्ट्रोल सिस्टम, ६ वटा एयरव्याग, इलेक्ट्रीक सनरुफ, ड्राइभ मोड, वायरलेस चार्जर पाउन सकिन्छ ।

स्कर्पियो एनले ग्लोबल एनक्याप क्रयास टेस्टमा ५ स्टारको सेफ्टी रेटिङ पाएको छ । स्कर्पियोमा २.० लिटरको पेट्रोल तथा २.२ लिटरको डिजल इन्जिन अप्सनमा उपलब्ध छ ।

नेपाली सडकमा पनि स्कर्पियोको बालो उपस्थिति रहेको छ । विगत एक दशकमा स्कर्पियो कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो बिक्री हुँदै आएको मोडल हो ।

स्कर्पियो एन भने नेपाल, भारत र साउथ अफ्रिकामा एक साथ सार्वजनिक भएपनि आधिकारीक रुपमा बिक्री सुरु हुन पाएको छैन । आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले चाँडै नै यसको बिक्री सुरु गर्ने भएको छ ।


Back_to_top