काठमाडौं । इन्जिन क्षमता ३५० सीसीदेखि ५०० सीसी सेग्मेन्टमा कुनै समय भारत र नेपालमा सर्वाधिक सुनिने नाम नै रोयल इनफिल्ड थियो । भारतीय ब्राण्ड बजाज र हिरोले संयुक्त लगानीमा ट्राइम्फ र हार्ले डेभिड्सन जस्ता मोडल बजारमा उतारेका छन् ।
हिरो मोटोकर्पले हार्लेसँगको सहकार्यमा उत्पादन गरेको ‘एक्स ४४०’ मोडल २ लाख २९ हजार भारतीय रुपैयाँमा ल्याएर बजारलाई राम्रै झड्का दिएको छ । बजाजले पनि यहि हप्ता ट्राइम्फका दुई मोटरसाइकल सार्वजनिक गर्दैछ ।
यी दुबै कम्पनीले उत्पादन गरेका मोटरसाइकल ३५० सीसीदेखि ५०० सीसी बीचका हुन् । यो सेग्मेन्टमा रोयल इनफिल्डको एकाधिकार जस्तै थियो । रोयल इनफिल्डले यो सेग्मेन्टमा ७० प्रतिशतभन्दा धेरै बजार हिस्सा ओगटेको छ ।
लाइफ स्टाइल प्रडक्टको पहिचान बनाएको रोयल इनफिल्ड मोटरसाइकललाई टक्कर दिने हिरो र बजाजको प्रयासमा ट्राइम्फ ४०० र हार्ले एक्स ४४० तयार भएका छन् । मूल्यले साथ दिँदा यी दुबै मोडलले राम्रो ब्यापार गर्न सक्ने देखिन्छ ।
त्यसो त यही सेग्मेन्टमा जावा, होन्डा जस्ता ब्राण्डले उत्पादन नल्याएका होइनन् । तर, इनफिल्सँग यी ब्राण्डको प्रतिस्पर्धा कडा हुन सकेन । अब टाइम्फ र हार्लेले नै आफ्नो सबैभन्दा कम मूल्यका मोडल भारतमा ल्याएका छन् । यसले प्रतिस्पर्धालाई निकै रोचक बनाउने अनुमान गरिएको छ ।
भारतीय बजारमा हार्ले र ट्राइम्फ बिक्री सुरु हुन लागेको भएपनि ती उत्पादन नेपाल आउने विषयमा भने शंका छ । बजाजको आधिकारीक बितरक भएकै कारण हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले यसअघि केटीएम र हस्कभर्ना नेपाल ल्याएको थियो । यी दुबै ब्राण्ड बजाजसँगको सहकार्यमा भारतमा उत्पादन भएका हुन् ।
विगतको अनुभवलाई हेर्दा भने ट्राइम्फका उत्पादन पनि नेपाल आउन सक्ने देखिन्छ । तर, यस बिषयमा नेपाली बिक्रेताले कुनै आधिकारीक जानकारी दिएको छैन ।
हिरोको डिलर सिप नै अनिश्चित भएको कारण भारतमा उत्पादन भएको हार्ले नेपाल आउँछ वा आउँदैन भन्ने एकिन छैन । यसअघि आईएमई मोटर्स आधिकारीक बितरक रहेको हार्लेका उत्पादन अहिले भने नेपालमा उपलब्ध छैनन् । त्यसैले कम मूल्यको हार्ले नेपाल आउने वा नआउने एकिन साथ भन्न सकिने अवस्था छैन ।


