काठमाडौं । होन्डा एलिभेट नेपाल आउने भएको छ । होन्डाको आधिकारीक बितरक स्याकार ट्रेडिङले होन्डा एलिभेट ल्याउने जानकारी दिएको हो ।
होन्डाले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बढ्दो बजारलाई समात्न एलिभेट मोडल ल्याएको हो । कम्पनीले भारतमा उत्पादन गर्ने एलिभेट अहिले बुकिङ लिइरहेको छ । भारतमा यसको डेलिभरी भने सेप्टेम्बरबाट सुरु हुने जनाइएको छ । नेपालमा भने मूल्य एकिन नभएको भन्दै कम्पनीले बुकिङ सुरु गरेको छैन ।
आगामी सेप्टेम्बरमा नै नेपालमा पनि एलिभेट सार्वजनिक हुने कम्पनी स्रोतको भनाई छ । अहिले मूल्यको बिषयमा कुराकानी भइरहेकोले चाँडै बुकिङ खुल्न सक्ने कम्पनीले जनाएको छ ।
भारतीय बजारमा विभिन्न ४ भेरियन्टमा एलिभेट उपलब्ध हुनेछ । नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने एकिन छैन । होन्डाले एलिभेटलाई एसभी, भी, भीएक्स र जेडएक्स भेरियन्टमा ल्याउन लागेको हो ।
सुरुवाती दुई भेरियन्टमा त्यति धेरै फिचर उपलब्ध रहने छैन । एसभी र भी भेरियन्टमा एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टेलल्याम्प, बुस बटम स्टार्ट/स्टप, फेब्रिक सिट, १६ इन्चको स्टील ह्वील, ड्यूल एयरब्याग रहने छ । एसभीमा टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम समेत रहने छैन ।
भी भेरियन्टमा भने ८ इन्चको टचस्कृन, चार स्पीकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, रियर भ्यू क्यामेरा, स्टेरिङ माउन्ट कन्ट्रोल र सिभीटी गियरबक्स थप हुनेछ ।
भीएक्स भेरियन्टमा भने १७ इन्चको अलोय ह्वील, सिंगल प्यानल सनरुफ, ७ इन्चको डिजिटल क्लष्टर, लेन वाच क्यामेरा, वायरलेस चार्जर, अटो फोल्डीङ मिरर, एलइडी फगल्याम्प, ६ स्पीकर पाउन सकिन्छ ।

एलिभेटको सबैभन्दा माथिल्लो भेरियन्ट जेडएक्समा १०.२५ इन्चको टचस्कृन, ६ वटा एयरव्याग, होन्डाको एडास फिचर, ८ स्पीकर, लेदर सिट, सफ्टटच ड्यासबोर्ड, अटो डिमिङ मिरर जस्ता फिचर रहने छन् ।
हुन्डाई क्रेटा, मारुती सुजुकी ग्राण्ड भिटारा, स्कोडा कुशक, फक्सवागेन टाइगुन र किया सेल्टोस जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने एलिभेटमा १.५ लिटर, फोर सिलिण्डर, नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिन रहने छ । यसमा ६ स्पीड म्यानुअल र ७ स्टेप सिभीटी गियरबक्स पाउन सकिन्छ ।
अहिले भारतमा नै मूल्य एकिन नभएको एलिभेटको मूल्य कति पर्ला भन्ने धेरैलाई चासो रहन्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध अन्य एसयूभी ५५ लाखदेखि ८० लाख भित्रका छन् । त्यसैले होन्डाले पनि एलिभेटको मूल्य ६० लाखदेखि ८५ लाख भित्रै राख्ने अनुमान गर्न भने सकिन्छ ।


