‘लाइफ स्टाइल एसयूभी’ जिम्नीको बुकिङ सुरु, कति पर्ला मूल्य ?

काठमाडौं । मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले आफ्नो ‘लाइफ स्टाइल प्रोडक्ट’ जिम्नीको बुकिङ खुल्ला गरेको छ । यसअघि जापानबाट आयात गरेर केही यूनिट जिम्नी बिक्री गरेको सिजीले अब भने भारतमा उत्पादन भएको जिम्नीको बुकिङ खुल्ला गरेको हो ।

जापानबाट आयात भएको जिम्नीमा तीन ढोका मात्रै थियो । अहिले बुकिङ खुल्ला भएको जिम्नी ५ ढोका भएको मोडल हो । नेपालमा कुन भेरियन्ट आउँछ भन्ने जानकारी नदिइए पनि भारतमा भने जिम्नीको जेटा र अल्फा गरी दुई भेरियन्ट बिक्री भइरहेको छ ।

अफरोडमा निकै चर्चा कमाएको जिम्नी निकै आकर्षक डिजाइनमा तयार भएको छ । भारतमा १२ लाख ७४ हजारदेखि १५ लाख ५ हजार भारतीय रुपैयाँ मूल्य कायम गरेर बिक्री हुँदै आएको जिम्नीको नेपालमा ६० लाखदेखि ७५ लाख भित्र मूल्य रहने अनुमान गरिएको छ । सम्भवत पाँच दिनपछि साउन ८ गते यसको मूल्य सार्वजनिक हुनेछ ।

जिम्नीमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०५ पीएस पावर र १३४ एनएम टर्क प्रदान गर्छ । यसमा फोर स्पीड टर्क कन्भर्टर अटोमेटीक र फाइभ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । भारतीय रिसर्च एजेन्सी एआरएआईले प्रतिलिटर १६.३९ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।

यो एसयूभीमा ९ इन्चको टचस्क्रिन स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, ६ वटा एयर ब्याग, इएसपी, हिल होल्ड असिस्ट लगायत फिचर्स पाउन सकिन्छ ।

यसमा हिल डिसेन्ट कन्ट्रोल, रियर भ्यु क्यामेरा, एबीएस, इबीडी जस्ता सुरक्षाका फिचर्स दिइएको छ ।


Back_to_top