दुई नयाँ मोडल बजारमा ल्याउँदै टीभीएस

काठमाडौं । भारतीय अटो कम्पनी टीभीएसले दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले अगष्टमा नयाँ इलेक्ट्रीक स्कुटर र अर्को प्रिमियम नेकेड मोटरसाइकल ल्याउने तयारी थालेको हो ।

कम्पनीले सिरोन इलेक्ट्रीक स्कुटर अगष्ट २३ मा सार्वजनिक गर्दैछ । त्यसको केही समय पश्चात अपाचे आरआर ३१० को नेकेड भर्सन सार्वजनिक गर्ने विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।

कम्पनीले अपाचे आरआर ३१० को नेकेड भर्सन आरटीआर ३१० परिक्षण गरिरहेको तस्बिर विभिन्न समयमा भारतीय संचार माध्यमले प्रकाशित गरेका छन् ।

टीभीएस अपाचे आरटीआर ३१० मा अल एलडी लाइट, गोल्डेन यूएसडी फर्क, स्प्लीट सिट, अपस्वेप्ट एक्जष्टका साथै कस्टोमाइज गर्न अप्सन ‘टीभीएस ब्युल्ट टू अर्डर प्लेटफर्म’ मा आउने छ ।

अपाचे आरटीआर ३१० मा आरआर ३१० कै ३१२ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ३४ पीएस तथा २७.३ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पीडको गियरबक्सका साथ स्लिपर क्लच, स्पोट्स मोड, अर्वान, रेन र ट्रयाक मोड समावेश हुनेछ ।

त्यस्तै, टीभीएसले सन् २०१८ मा देखाएको कन्सेप्ट ‘सिरोन ई-स्कुटर’ २३ अगष्टमा सार्वजनिक गर्ने भएको छ । यसमा १२ किलोवाट (१६ पीएस) पावरको मोटर जडान गरिएको छ । यसले मात्र ५.१ सेकेन्डमा ०-६० को स्पीड भेट्न सक्ने कम्पनीको दावी छ ।

यसको मोटरले प्रदान गर्ने पावर १५० सीसी क्षमताका मोटरसाइकलहरु बराबर छन् । यद्यपि नयाँ इलेक्ट्रीक स्कुटरमा कति क्षमताको मोटर प्रयोग हुन्छ भन्ने कुरा कम्पनीले बाहिर ल्याएको छैन ।

कम्पनीले नयाँ स्कुटरको डिजाइन सिरोन ईभीबाट प्रेरित भएको र यसको धेरै फिचर एनटर्कबाट लिने अनुमान गरिएको छ ।

कम्पनीले नयाँ स्कुटर दुबईमा सार्वजनिक गर्ने उल्लेख गरेको छ । सम्भवत बुर्ज खलिफा टावरबाट यो स्कुटर सार्वजनिक हुनेछ ।


Back_to_top