१० किलोमिटर सिट्रोनको इलेक्ट्रीक कार चलाउँदा…

काठमाडौं । नेपाल आएको पाँच दिनपछि मेरोअटो टीमले सिट्रोन इलेक्ट्रीक सीथ्रीको पहिलो ड्राइभ गर्ने मौका पाएको छ । थोरै समय र छोटो १० किलोमिटर उपत्यकामा सीथ्री चलाएर हेरेपछि हाम्रो अनुभव यहाँ सेयर गरेका छौं ।

बजारमा उपलब्ध सब फोर मिटर एसयूभीकै साइजमा रहेको ईसीथ्री धेरैले ह्याचव्याक, केहीले क्रसओभर र कम्पनीले कम्प्याक्ट एसयूभी भनिरहेको छ । चलाएर हेरेपछि यसमा हाम्रो भनाई छ, ‘यो क्रसओभर’ मोडल हो ।

निकै सार्प क्याविन रहेको सीथ्रीको ड्यासबोर्ड कम्प्याक्ट एसयूभीको भन्दा सानो छ । हार्डटच मेटेरियरले बनेको ड्यूल कलर ड्यासबोर्डको बीचमा दिएको इन्फोटेन्टमेन्ट सिस्टम, त्यसको तल दिइएको एसी भेन्ट, सेन्ट्रल कन्सोलमा दिइएको कप होल्डर, मोवाइल होल्डर र अन्य केही स्पेश त्यहाँ रहेको छ ।

यसको क्याविन निकै फराकिलो रहेको छ । हामीले ५ जना बसेर यसको टेष्ट ड्राइभ गरेका थियौं । पछाडिको सिटमा ३ जनाले सहजै बस्न सक्नेछन् । अगाडि ठूलो क्रसओभर मोडल भएको कारण आर्मरेष्टको कमी महसुस हुन्छ ।

गियर नब यूनिक डिजाइनमा छ । गियर नबसँगै स्टायण्डर्ड र इको मोड सेलेक्ट गर्न मिल्ने बटम दिइएको छ । म्यानुअल एसी, हिटर र मेकानीकल ह्याण्डब्रेक यसमा पाउन सकिन्छ ।

ड्राइभिङ अनुभव

हामीले काठमाडौंको थापाथलीमा रहेको सिट्रोन शोरुमबाट यसलाई चलाएका थियौं । कुपन्डोल, कोटेश्वर, तीनकुने, बानेश्वर, मध्येबानेश्वर, अनामनगर हुँदै थापाथली शोरुमसम्मको १० किलोमिटर हाराहारी ईसीथ्री चलायौं ।

पावरमा निकै शंका लागेकै कारण गाडीमा ५ जना बसेर चलाउने हाम्रो योजना थियो । केबल ४२ किलोवाट क्षमताको मोटरले कस्तो पफर्मेन्स गर्ला भन्ने हाम्रो जिज्ञासालाई यसले मेटायो । गाडीको पावर निकै उत्कृष्ट फिल हुन्छ । इन्स्ट्यान्ट टर्क भएको कारण उकालोमा पनि गाडीले गज्जप पफर्मेन्स दिन्छ ।

हाम्रो १० किलोमिटरको यात्रामा गाडीले ५ प्रतिशत चार्ज खर्च गरेको थियो । गर्मी महिना र त्यसमा पनि गाडीमा धेरै मानिस भएको कारण एसी पुरै समय चलाइएको थियो । त्यसमा पनि टेष्ट ड्राइभ भएको कारण ड्राइभिङ खासै स्मुथ हुने कुरै भएन । उच्च पावरको लागि एक्सीलेरेटर थिच्नै पर्यो भने उकालो स्थान खोजेर चलाउनै पर्यो । यस हिसावले कम्तीमा २३० किलोमिटर समान्य ड्राइभमा रेन्ज निकाल्न सकिने देखियो ।

ह्याण्डलिङ निकै स्मुथ छ । स्टेरिङ निकै ‘सफ्ट फिल’ हुन्छ । एक्सीलेरेटर सोचेभन्दा राम्रो छ । तर, ईभीमा हिल होल्ड एसिस्टको कमी महसुस हुन्छ ।

एक्सटेरियरका कुरा

सिट्रोन सीथ्रीको लुकिङ ग्लास, रियर लाइट, हेडलाइट, ढोकाको तल्लो भाग लगायतका स्थानमा प्रयोग भएको फरक कलर एसेन्टले अलग पहिचान दिएको छ । निकै आकर्षक क्रोम फिनिसिङ सहितको लोगो, एलइडी डे टाइम रनिङ लाइट, म्याट ब्ल्याक कलरको ग्रिल, हेलोजिन हेडल्याम्प र स्टाइलिस ह्वील कभरले आकर्षक देखाएको छ ।

ईभी भएरपनि अलोय ह्वील नहुँदा केही कमी भने पक्कै महसुस हुन्छ । अनि यसमा दिइएको ग्लोसी ब्ल्याक रुफरेल सोचे जस्तो यूरोपियन क्वालीटीमा छैन ।

निष्कर्ष

छोटो ड्राइभमा गाडीमा रहेका सवल र कमजोर पक्ष पत्ता लगाउन सहज हुँदैन । यसमा सबैभन्दा चिन्ताको विषय मोटर हो भन्ने धेरैलाई लाग्न सक्छ । हामीले चलाएको छोटो ड्राइभमै हामी त्यो चिन्ताबाट मुक्त भएका छौं ।

यूरोपेली प्रतिष्ठित गाडी उत्पादकले उत्पादन गरेको कारण यसको गुणस्तरलाई लिएर धेरै टिप्पणी गर्नु उचित हुँदैन । भारतमा उत्पादन भएको र बजेटमा केन्द्रित रहेर बनाएको कारण यूरोपियन फिनिसिङ पाउन सकिदैन । समग्रमा सिट्रोन सीथ्रीलाई सहरी यात्राको लागि बजेट अनुसारको उत्कृष्ट क्रसओभर मान्न सकिन्छ ।


Back_to_top