काठमाडौं । दक्षिण पूर्वी एशियाली बजारमा चिनियाँ कम्पनीका विद्युतीय कारले बर्चश्व कायम गरेका छन् । विशेषगरी बीवाइडी, एमजी र नेटाले विद्युतीय कारमा आफ्नो पकड जमाएका हुन् ।
यी तीन कम्पनीले दक्षिण पूर्वी एशियालका इन्डोनेशिया, मलेशिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनामको कुल विद्युतीय कारको बजारमा ६८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।
त्यसैगरी यो बजारमा प्लगइन हाइब्रिडमा पनि चिनियाँ ब्राण्ड जिलीको बजार हिस्सा सबैभन्दा धेरै छ । यी बजारमा जिलीलाई जर्मन कार निर्माता बीएमडब्लू र मर्सिडिज जस्ता ब्राण्डले प्लगइन हाइब्रिड सेग्मेन्टमा पच्छाई रहेका छन् ।
दक्षिण पूर्वी एशियाका यी देशमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार बीवाइडी एटो थ्री हो । एटो थ्रीलाई नेटा भी र टेस्ला मोडल वाईले पच्छाई रहेका छन् ।
दक्षिण पूर्वी एशियामा विद्युतीय कारको माग बढ्दो क्रममा रहेको छ । एक वर्ष अघिसम्म कुल कार बिक्रीको ०.३ प्रतिशत बजार हिस्सा रहेकोमा अहिले बढेर ३.८ प्रतिशत पुगेको छ । सन् २०२३ को अन्त्यसम्ममा त्यो बढेर ६ प्रतिशत पुग्ने प्रक्षेपण भइरहेको छ ।
इन्डोनेशिया र भियतनाममा ईभीको बिक्री उत्साहजनक नभएपनि थाइल्याण्डमा ईभी निकै रुचाईएको छ । ईभीको प्रयोग बढाउन थाइल्याण्ड सरकारले लिएको नीतिको कारण दक्षिण पूर्वी एशियामा विद्युतीय कारको बजार हिस्सा बढ्दै गएको हो ।
थाइल्याण्डमा अहिले नै एमजी, बीवाइडी र होजोनको नेटा बिक्री हुँदै आएको छ । चाँडै यहाँ ग्रेटवाल र चांगन जस्ता ब्राण्ड प्रबेश गर्दैछन् । मलेशिया र सिंगापुरमा अहिले पनि ईभीको बिक्री निकै राम्रो भइरहेको छ । जहाँ एमजीले बलियो उपस्थिति बनाएको छ ।


