‘नाडा अटो शो २०२३’मा गुपचुप आउन सक्छन् दुई इलेक्ट्रीक कार

काठमाडौं । भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शोको तयारी तिब्र भइरहेको छ । मुख्य गाडी बिक्रेता सबैले भाग लिने अटो एक्स्पोमा अहिले चर्चा नगरिएका ३ नयाँ मोडल सार्वजनिक हुन सक्नेछन् ।

अटो शोमा एमजी र बीवाइडीले अहिले चर्चा नगरेका दुई मोडल नेपाल ल्याउन सक्ने देखिएको छ । एमजीले भारतमा उत्पादन भएको कोमेट ईभी ल्याउन सक्नेछ । त्यसैगरी बीवाइडीले आफ्नो प्रिमियम इलेक्ट्रीक सेडान सिल नेपाल ल्याउन सक्छ ।

एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्स र बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले यसको विषयमा कुनै आधिकारीक जानकारी दिएको छैन । तर, दुबै ब्राण्डले प्राथमिकतामा राखेर नयाँ मोडल ल्याउने छन् ।

एमजीले एमजी-४ र बीवाइडीले डल्फीन भने अटो शोमा राख्ने जानकारी दिइसकेका छन् । यस्तोमा बीवाइडी सिल र एमजी कोमेट पनि नेपाल ल्याउने हो भने दुबै कम्पनीसँग नयाँ दुई दुई मोडल प्रदर्शनीमा हुनेछन् ।

एमजी कोमेट ब्राण्डकै इन्ट्री लेभल मोडल हुनेछ । मूल्यको हिसावले पनि एमजीको सबैभन्दा कम मूल्यको ह्याचव्याकको रुपमा कोमेट नेपाल आउने छ । बीवाइडीको प्रिमियम सेडान सिल आफ्नो लाइनअपमा सबैभन्दा महंगो मोडलको रुपमा आउने छ ।

यस्तो छ एमजी कोमेट

अघिल्लो महिनाबाट भारतमा बिक्री सुरु भएको कोमेट एउटा सिटी कार हो । एमजी कोमेटमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । निकै सानो मोटर रहेको कोमेटमा ४२ हर्सपावरको मोटर र ११० न्यूटन मिटर टर्क पाउन सकिन्छ ।

कोमेटलाई सिंगल चार्जमा २३० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । तर, धेरै किसिमका परिक्षणले यसले सिंगल चार्जमा सहजै १९० किलोमिटर गुडाउन सकिने देखिएको छ ।

एमजी कोमेटलाई ३.३ किलोवाटको चार्जरले ५ घण्टामा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । फुल चार्ज गर्न भने ७ घण्टा लाग्ने बताइएको छ । यो ईभी ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल आर्किटेक्चरमा आधारित रहेर निर्माण गरिएको हो ।

कोमेट मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ । यसको विन्डस्क्रीनको मुनि ओआरभीएम दिइएको छ भने, डुअल–टोन कलर थिम र ठूलो रियर क्वार्टर गिलासको छेउमा क्रोम स्ट्रिप पाउन सकिन्छ ।

कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले सेतो, निलो, हरियो, पहेँलो र गुलाबी सहित पाँचवटा रङ्गमा उपलब्ध गराएको छ ।

यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत छन् ।

यसमा १०.२५ इन्चको हेड यूनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङसनल स्टेरिङ ह्वील लगायत पनि पाउन सकिन्छ ।

यस्तो छ बीवाइडी सिल

विश्व बजारमा टेस्लासँग प्रतिस्पर्धामा उतारेको बीवाइडी सिल निकै प्रिमियम कार हो । प्रिमियम सेग्मेन्टमा पनि ईभीको माग उच्च रहेको कारण बीवाइडीले सिल मोडल बजारमा उतारेको थियो ।

चीनमा उत्पादन हुने यस सिल सेडानमा कम्पनीले ६१.४ किलोवाट आवर र ८२.५ किलोवाट आवर गरी दुई ब्याट्री अप्सन दिएको छ । तर, नेपालमा कुन ब्याट्री प्याकमा आउने छ भन्ने अहिल्यै एकिन गर्न सकिदैन ।

सिल सेडानको टप-स्पेक भर्सनलाई सिङ्गल चार्जमा ७०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसले ३.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको गति भेट्टाउन सक्छ ।

अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको सिल सेडानमा रियर ह्विल ड्राइभ अप्सनमा १५० किलोवाट क्षमता (२०४ ब्रेक हर्स पावर) को मोटर जडान भएको छ । त्यस्तै अल ह्वील ड्राइभ अप्सनमा भने ३९५ किलोवाट (५३० ब्रेक हर्स पावर) को मोटर छ । यसले ६७० एनएम टर्क प्रदान गर्छ ।

यसको इन्टेरियरमा जायन्ट सेन्टर टचस्क्रिन र फराकिलो इन्स्ट्रुमेन्ट स्क्रिन दिइएको छ । यसमा टेस्लामा प्रयोग भए जस्तै विन्ड स्क्रृन र रुफ छुट्टाछुट्टै पाउन सकिन्छ । बीवाईडी सिलमा नखुल्ने गरी जायन्ट ग्लास रुफ दिइएको छ । यसमा फ्लस डोर ह्यान्डल र स्मार्ट लुकिङ एलइडी टेल लाइट पनि पाउन सकिन्छ ।


Back_to_top