टेस्लाले फेरी घटायो मूल्य !

काठमाडौं । अमेरिकी इलेक्ट्रीक जाइन्ट टेस्ला मोटर्सले आफ्नो मोडल थ्रीको मूल्य पुनः एक पटक घटाएको छ । केही दिन अघि टेस्लाका सीईओ इलन मस्कले टेस्ला कारको मूल्य घट्ने संकेत गरेका थिए ।

टेस्लाले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार मोडल थ्रीमा २ हजार डलरले मूल्य कटौती गरिएको हो । अमेरिकी बजारमा अब स्टायडर्ड भेरियन्ट मोडल थ्रीको मूल्य ३७ हजार ९४० डलर कायम भएको छ । साथै, सरकारले दिने ७ हजार ५०० डलर अनुदान पनि घटाउँदा ग्राहकले ३० हजार ४४० डलरमा टेस्ला मोडल थ्री खरिद गर्न सक्नेछन् ।

अमेरिकामा टेस्लाले डेलिभरी र अर्डर शुल्क समेत ग्राहकबाट लिँदै आएको छ । सबै खर्चपछि ग्राहकले ३२ हजार ८० डलरमा आफ्नो घरमै टेस्ला मोडल थ्री डेलिभरी पाउने छन् ।

टेस्लाले निरन्तर मूल्य घटाइरहेको छ । कम्पनीले चिनियाँ ब्राण्डहरुको ईभीसँग सिधा प्रतिस्पर्धा गर्न सक्नेगरी मूल्य कायम गरिरहेको बुझ्न कठिन छैन । साथै, टेस्लाको मासमा उत्पादन सुरु भइसकेको कारण भोलिका दिनमा थप मूल्य कटौती हुने सहजै अनुमान लगाउन सकिन्छ ।

टेस्लाले मोडल थ्रीको फेसलिफ्ट भर्सन पनि चाँडै बजारमा ल्याउने तयारी गरिरहेको छ । आगामी अक्टोबरमा बजारमा आउने अपेक्षा गरिएको मोडल थ्री अहिलेको तुलनामा थुप्रै फिचर अपग्रेड भएर आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top