काठमाडौं । भारतीय बजारमा एसयूभीको बिक्री तिब्र रुपमा बढेको तथ्यांकले देखाएको छ । कम्पनीहरुले एसयूभीको उत्पादन र बिक्रीमा जोड दिएसँगै बिक्रीमा समेत उछाल आएको हो ।
सन् २०१३ बाट भारतमा एसयूभीको बिक्री बढ्न थालेको हो । डस्टर, इको स्पोर्ट जस्ता मोडलले बढाएको एसयूभी क्रेजमा क्रेटा, ब्रेजा, नेक्सन, सेल्टोस, भेन्यू, सोनेट जस्ता मोडलले तिब्र गतिमा बिस्तार गर्यो ।
भारतमा भएको जुलाई महिनाको होलसेल बिक्री तथ्यांक अनुसार ब्रेजा, क्रेटा, फ्रोङ्क्स, नेक्सन, पन्च, स्कर्पियो र भेन्यूले १० हजार यूनिट माथि बिक्री पाउन सफल भएका छन् ।
त्यस्तै सेल्टोस, ग्राण्ड भिटारा र हुन्डाई एक्सटरपनि राम्रो बिक्री संख्या भेट्टाएका मोडल हुन् । अहिले भारतमा राम्रो संख्यामा बिक्री भइरहेका यी मोडल अधिकांश नेपालमा पनि किन्न पाइन्छ ।



