काठमाडाैं । इटालीयन इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी इनर्जीकाले उत्पादन गरेको इगो आरएस मोटरसाइकलको मूल्य ५८ लाख रुपैयाँ रहेको छ । यो मोटरसाइकल अहिले बजारमा हटकेक बनेको बीवाइडी एटो-३ को एड्भान्स भेरियन्टभन्दा महंगो रहेको छ ।
बजारमा उपलब्ध एड्भान्स भेरियन्ट एटो-३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ मात्रै छ । इनर्जीकाको सुपर स्पोर्टस् मोटरसाइकल इगो आरएस फिचर लोडेड मोटरसाइकल हो । तर, यसको महंगो मूल्यलाई लिएर धेरै टिप्पणी हुने गरेको पाइन्छ ।
इनर्जीका इगोमा १२६ किलोवाट पीक पावर भएको मोटर छ । यो मोटर नेपालमा उपलब्ध अधिकांश इलेक्ट्रीक कारको भन्दा ठूलो हो । यसले २२२ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड २४० किलोमिटर प्रतिघन्टाको रहेको छ ।
कम्पनीले यो प्रिमियम मोटरसाइकलमा २१.५ किलोवाट आवर क्षमताको लिथियम ब्याट्री दिएको छ । यसलाई एकपटक फुलचार्ज गरेर ४२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

ईगोमा अर्वान, इको, वेट र स्पोर्टस् गरी ४ राइडिङ मोडमा उपलब्ध छ । यो मोटरसाइकलले स्पोर्टस् मोडलमा ० देखि १०० को स्पीड मात्र २.६ सेकेन्डमा पुरा गर्छ ।
कम्पनीले यसमा क्रुज कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, पार्क एसिस्ट, टीएफटी डिस्प्ले, स्वीचेवल डबल च्यानल बोश्चको एबीएस जस्ता अत्याधुनिक फिचर दिएको छ ।
दुई पाङ्ग्रेमा पनि ईभी आयात बढ्दै
इलेक्ट्रीक दुई पाङ्ग्रेको बजार बिस्तारै बढ्दै गएको छ । गत आर्थिक वर्षमा ७ हजार हाराहारीमा इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल नेपाल आएको तथ्यांकले ईभीको प्रयोग बढ्दै गएको देखिएको हो । अघिल्लो आवको तुलानामा गत आवमा इलेक्ट्रीक दुई पाङ्ग्रेको आयात १०० प्रतिशतले बढेको हो ।
नेपालमा भारत, चिन तथा थाइल्याण्डमा उत्पादन भएको स्कुटरतथा मोटरसाइकल भित्रने क्रम बढ्दो छ । हाल नेपालमा ५० भन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटर उपलब्ध छन् ।

