काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले भारतमा वार्षिक १० लाख कार उत्पादन गर्ने योजना तयार गरेको छ । कम्पनीले अमेरिकी मोटर कम्पनी जनरल मोटर्सको प्लान्ट खरिद गरेर उत्पादन क्षमता बढाउन लागेको हो ।
जनरल मोटर्सको प्लान्ट चिनियाँ ब्राण्ड ग्रेटवाल मोटर्सले खरिद गर्ने सम्झौता गरेको भएपनि भारत सरकारले स्विकृत नदिएपछि उक्त सम्झौता खारेज भएको थियो ।
अब उक्त प्लान्ट हुन्डाई मोटर इन्डिया लिमिटेडले खरिद गर्ने सम्झौता गरेको छ । जनरल मोटर्स इन्डियाले आफ्नो उत्पादन सन् २०१७ मा बन्द गरेपछि महाराष्ट्रको तेलगाँउको उक्त प्लान्ट बिक्री गर्न लागेको हो ।
जनरल मोटर्सले संचालन गर्दा उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता १ लाख ३० हजार रहेको थियो । त्यसलाई केही बिस्तार गरेर उत्पादन सुरु गर्ने हुन्डाईले योजना बनाएको छ । यसअघिको रिपोर्टले उक्त प्लान्टमा हुन्डाईले ईभी उत्पदान गर्ने दावी गरेको थियो ।
अहिले हुन्डाईले भारतमा वार्षिक ७ लाख ५० हजारदेखि ८ लाख २० हजार यूनिटसम्म गाडी उत्पादन गर्ने क्षमता हुन्डाईको छ ।
हुन्डाइले जनरल मोटर्ससँग खरिद गरेको प्लान्टबाट उत्पादन गर्न थालेपछि कम्पनीको उत्पादन क्षमता वार्षिक करिब १० लाख यूनिट पुग्नेछ ।

