लगातार तीन दिनमा ३ स्थानका फास्ट चार्जर संचालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेर फास्ट चार्जर लगातार तीन दिनमा तीन स्थानबाट संचालनमा आउन लागेको छ । हिजो मंगलवार इटहरीमा बनेको फास्ट चार्जर संचालनमा ल्याएको प्राधिकरणले आजबाट बिराटनगरमा बनेको चार्जर संचालनमा ल्याउँदैछ ।

हिजो र आज नै एक/एक स्थानमा नयाँ चार्जर संचालनमा ल्याएको प्राधिकरणले भोलिबाट नुवाकोटको बट्टारमा बनेको चार्जिङ स्टेशन संचालनमा ल्याउँदै छ ।

‘हामीले पहिलो चरणमा बनाएका सबै चार्जरहरु संचालनमा आएका छन् । भोलि नुवाकोटमा बनेको चार्जर आधिकारीक रुपमा संचालनमा आउँदैछ’, प्राधिकरण चार्जिङ नेटवर्क विस्तारका आयोजना प्रमुख सागरमणी ज्ञवालीले भने ।

उनका अनुसार दोस्रो चरणमा बन्ने चार्जिङ सेन्टरको कामहरु अगाडि बढेको छ । केही दिनअघि प्राधिकरणको वार्षिक उत्सवको अवसरमा प्रबन्ध निर्देशक कुलमान घिसिंङले थप १३ स्थानमा फास्ट चार्जिङ सेन्टर बनाउन लागेको बाताएका थिए ।

थपिदै नयाँ नेटवर्क

प्राधिकरणले बनाउने थप चार्जिङ नेटवर्कमा चरिकोट, रामेछाप, बनेपा, कन्चनपुर, घुर्मी, दुधौली लगायतका स्थान छन् ।

‘अहिले सबै स्थान छनोट भइसकेको छैन । देशका सबै भागबाट चार्जरको माग बढी रहेको छ । अहिले धेरै स्थानमा चार्जर लगाउन सक्ने अवस्था छैन । यद्यपि, हामी स्थान छनोटको काम गरिरहेका छौं’, आयोजना प्रमुख ज्ञवालीले भने ।

पछिल्लो दिनमा बनेका चार्जिङ स्टेशनमा जिबीटीलाई प्राथमिकता दिएको देखिन्छ । यसअघि जिबीटी चार्जर मात्रै भएको स्थानमा पनि प्राधिकरणले सीसीएस–२ चार्जर जडान गर्न लागेको हो । यसअघि सिन्धुली बजारमा जिबीटी मात्रै चार्जर थियो । अब यहाँ सीसीएस–२ थप हुन लागेको हो ।

अहिले बन्न लागेको घुर्मी, चरिकोट र रामेछापमा सुरुमा जिबीटी चार्जर मात्रै रहने ज्ञवालीले बताए ।


Back_to_top